तुलसीपुर,असोज ३१ । जंगलमा हत्या गरि एकै ठाउँमा फालेको अवस्थामा फेला परेका रोशनी महतरा र शरद आचार्यको शबको पोष्टमार्टम मंगलबार मात्रै हुने भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय जंगलको एकै चिरोमा हत्या गरि फालेको अवस्थामा उनीहरुको शबहरु फेला परेका थिए ।
तुलसीपुरमा शब पोष्टमार्टम गर्ने फोरेन्सिक बिज्ञ नभएको हुँदा पोष्टमार्टम गर्न ढिलाई भएको हो । मंगलबार घोराहीबाट बिज्ञसहितको टिम पोष्ट मार्टमका लागि आउने भएको छ ।
दमारगाउँबाट आइतबार बेलुका अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि भनेर उनीहरुका शबहरु ल्याएर राखिएको छ । तर, यहाँ फोरेन्सिक बिज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट सम्बन्धित क्षेत्रका बिज्ञ बोलाउनु परेको इलका प्रहरी कार्यालय तुसलीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
तुलसीपुरका चिकित्सकले प्रहरीले आग्रह गरे अनुसारको चेकजाँच गर्न नसकिने बताएपछि सोमबार बेलुकी पख उनीहरुका शबहरु पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भइरहेको थियो । तर, अन्तिममा समन्वय गर्दा घोराहीबाट फोरेन्सिक बिज्ञसहितको टिम तुलसीपुरमै आउन सहमत भएको प्रहरीले बताएको छ ।
बिज्ञसहितको समुह मंगलबार बिहान आउने र शबको पोष्टमार्टम गर्ने निर्णय भएको अस्पताल प्रशासनले पनि जानकारी दिएको छ ।
बिज्ञसहितको टोली तुलसीपुर आएरु काम गरे शब फेला परेको झन्डै ४८ घन्टाको अबधिमा पोष्टामार्टम हुने देखिएको छ ।
दमारगाउँकी १५ बर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भइ दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ बर्षीय शरद आचार्यको शब स्थानीय सामुदायिक वनको जंगल भित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए ।
उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए ।
इप्रका तुलसीपुरका प्रमुख मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए ।
आचार्यकी माउली हजुरआमाले नजिकै रहेको कौवापुर प्रहरी चौकीमा गएर असोज २८ गते आफ्नो नाती हराएको भन्दै खोजी गरिदिन निबेदन दिएकी थिइन ।
तीन दिन पछि उनीहरुको शब हत्या गरि एकै चिरोमा फालेको अवस्थामा फेला परेको थियो । उनीहरुको हत्या २७ गते मध्य राति नै भएको आशंका प्रहरीले गरेको छ ।
उक्त दिन राति साढे १० बजेसम्म रोशनी र शरदले मोवाइल प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ । तर, हालसम्म उनीहरुले प्रयोग गर्ने मोवाईलहरु फेला नपरेको प्रहरीले बताएको छ ।
घटना अनुसन्धानमा सहयोग पुगोस भनेर उनीहरुका केही सहपाठी तथा गाउँका साथीसमेत गरि ६ जनालाई सोधपुछको लागि इप्रकामा राखिएको प्रहरीले जानकारी दिएको छ ।
मोवाइल प्रयोगको आधारमा आइतबार दिउँसो नै प्रहरीले एक जना टिपर चालक नियन्त्रणमा लिएको थियो । ती चालकको बयानका आधारमा आशंका गरिएका अर्का युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार सोमबार पक्राउ परेका ती युवाको माइती घर दमारगाउँमा छ ।
उनीहरुको बयानका आधारमा अन्य केहीलाई निगरानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
सहपाठी रोशनी र शरदको हत्यामा संलग्न ब्यक्तिको पहिचान पछि पक्राउ गरि जति हुन्छ छिटो सार्वजनिक गरिने प्रहरीले विश्व्वास दिलाएको छ ।
दमारगाउँमा एकै साथ दुई किशोर किशोरीको शब फेला परेपछि गाउँ शोकमा डुबेको छ भने स्थानीय त्रसिद बनेका छन् ।
