खेमराज रिजाल,
बेलझुण्डि(दाङ), १६ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी खेलाडी छान्न विभिन्न विधाका प्रतियोगिताहरु विहिवारदेखि सुरु भएका छन् । मुलुक शोकमा रहेका कारण औपचारीक उद्घाटन नभएपनि विहिवारैदेखि बांकेको नेपालगन्जबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन प्रदेशस्तरीय छनौट प्रतियोगिताहरु सुरु भैसकेका छन् । अवको दुइदिनपछि दाङमा पनि प्रदेशस्तरीय छनौट प्रतियोगिता हुंदैछ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन पनि केहि खेलहरुसहित दाङकै वेलझुण्डि रंगशालामा हुने कार्यक्रम तय भैसकेको छ । यद्धपि यहां निर्माणाधिन रंगशाला निर्माणको काममा भने ढिलाइ भैरहेको छ । खेलप्रेमीहरुले यसलाइ विलो टेण्डर ढिलो कामको प्रबृत्ति यथावत रहेको अभिव्यक्ति दिएका छन् ।
‘निर्माण कम्पनीले तोकिएको मितिमै रंगशालाको निर्माणको काम सम्पन्न गर्छ भन्ने आशा गरेका थियौं, तर तोकिएको समयमा काम हुन सकेन, अझै केहि समय लाग्ने अवस्था देखिएको छ’—खेलप्रेमी युवा सिताराम शर्मा भन्छन्, तोकिएको काम समयमा सम्पन्न नहुंदा कतै राष्ट्रिय खेलकुद प्रतियोगिताको स्याडुलमै असर पर्ने होकि । खेलकुद प्रतियोगिताको मिति आइसक्न लाग्दा पनि कम्पनीले आवस्यक मात्रामा जनशक्ति र श्रोतसाधन परीचालन गर्न कन्जुस्याइ गर्दै आएको स्थानिय खेलप्रेमी मदन केसीले बताए । निर्माणको काममा प्रयाप्त कामदार समेत लगाउन नसकेको उनको बुझाइ छ ।
खेलप्रेमी तथा सर्वसाधारणले निर्माण कम्पनीको हेलचक्रयाइका कारण निर्माणको काम तिब्र बन्न नसकेको बताएका छन्। निर्माण कम्पनीले भने यसमा राज्यको ऐन कानुननै झण्झटिलो भएका कारण तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिएको बताएको छ ।
नेपाल सरकार र निर्माण कम्पनीबीच वेलझुण्डिमा अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माणकालागी गत असार ७ गते निर्माण सम्झौता भएको थियो । संझौतामा ८ महिनाभित्र निर्माणको सम्पुर्ण काम सम्पन्न गरी सरकारलाइ हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो । तर त्यो समयसिमा फागुन ६ मै समाप्त भैसकेको छ । तोकिएको समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीले जिल्ला खेलकुद विकाश समितिलाइ म्यादथपको सिफारीस गर्न आवेदन समेत दिएको छ । यद्धपि समितिले अझै पनि म्यादथपको सिफारीस गरेको छैन ।
‘संझौता मितिमा काम सम्पन्न नगर्ने र म्याद थपकालागी सिफारीस माग्ने काम न्यायोचित होइन भनेर सिफारीस रोकिएको हो, हामीले चांडोभन्दा चांडो काम सक्न निर्माण कम्पनीलाइ ताकेता गरेका छौं’—जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष डिल्ली वहादुर डांगीले भने । ढिलाइ भएपनि निर्माणको गुणस्तरमा भने निर्माण कम्पनी सम्वेदनशिल रहेको बताउंदै राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन मितिभित्र निर्माणको काम सक्न ताकेता गरीरहेको पनि उनले बताए ।
पछिल्लो महिना आवस्यक श्रोतसाधन र श्रमशक्ति पनि थपेकाले काम सम्पन्न हुनेमा आफुहरु आशावादी भएको पनि अध्यक्ष डांगीले बताए । म्याद थप नभएपनि काम भने रोकिएको छैन । प्याराफिट निर्माणदेखि मैदानमा ट्रयाक निर्माण र दुवो रोप्ने कामले तिब्रता पाइरहेको खेलकुद विकाश समितिले जनाएको छ । रंगशाला निर्माण अन्तर्गत प्याराफिट निर्माण, १० कोठे व्लक भवन, भिआइपि व्लक, नर्मल व्लक, मैदानमा दुवो रोप्ने लगायतका कामकालागी नेपालसरकारसंग २४ करोड २४ लाख रुपैयामा सम्पन्न गर्ने सम्झौता भएको थियो । यद्धपि त्यसकालागी
नेपाल सरकारले ३४ करोडको ठेक्का गरेको थियो ।
१० करोड विलोमा दिवा÷एमए÷प्रतिष्ठा कन्स्ट्रक्शन कम्पनीले निर्माण ठेक्का पाएको थियो । निर्माण कम्पनीले चैत अन्तिम सम्म सवै काम सकिने जनाएको छ । यद्धपि चैत दोस्रो सातामा भने राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको कार्यक्रम यहि रंगशालामा सम्पन्न हुने अन्तिम तयारी खेलकुद परीषदले गरेको छ । ‘ट्र¥याक निर्माणको काम फागुन अन्तिम सम्म सक्ने तयारीमा छौं, बांकि अन्य सवै काम चैत मसान्तभित्र सकिने छ’—निर्माण कम्पनीका साइट इन्जिनियर सुरज भोजुले गोरक्षलाइ फोनमा भने । सडक विभागमा एप्रुभल प्रक्रियामै कम्तिमा दुइ महिना वितेको भन्दै काममा सामान्य ढिलाइ भएको उनले स्वीकार गरे । साथै ढिलाइ हुनुमा अर्को कारण रंगशालाको डिजाइन र निर्माणको काम दुवै आफै निर्माण कम्पनीले गर्नुपर्दा पनि काममा केहि ढिलाइ भएको उनले बताए ।
‘तपाइहरुले सोंचेजस्तो सहज पनि होइन, यो नेपालमा पहिलो डिजाइन थियो,तीन फिट फिलिङ गरेर काम गर्नु कम्ति चुनौतिको काम थिएन’—इन्जिनियर सुरजले भने । तैपनि कामको गुणस्तरको सवालमा कुनै आशंका नरहेको उनको दावी थियो । ‘नयां डिजाइनमा गुणस्तरीय काम गर्दा केहि ढिलाइ भएको हो, अहिले थप जनशक्ति र श्रोतसाधन थपेर काम भैरहेको छ’—उनले भने, निर्माणमा ढिलाइका कारण राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रम रोकिने छैन
।
जिल्लाको गौरवका रुपमा हुनथालेको राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रम संभवतः पहिलो पटक हो । आठौं खेलकुद प्रतियोगिताको सुभारम्भ नेपालगन्ज रंगशालामा हुंदै छ । प्रतियोगिता अन्तर्गतका महिला भलिवल र क्रिकेट प्रतियोगिता दाङमा हुने तयारी रहेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधाका गरी जम्मा ३५ खेलहरु हुने बताइएको छ । त्यसैगरी राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी प्रदेशस्तरीय छनौट प्रतियोगिता भने आउंदो आइतवार फागुन १९ गतेदेखि २४ गतेसम्म हुने छन् ।
तुलसीपुरमा टेवलटेनिस प्रतियोगिता, घोराहीको कभर्डहलमा उसु, घोराहीको नवलपुरमा बास्केटवल तथा घोराहीको भरतपुर खेलमैदानमा एथलेटिक्स प्रतियोगिता हुने जिल्ला खेलकुद विकाश समितिका प्रशिक्षक पद्मा चौधरीले जानकारी दिएकि छिन् । छनौट प्रतियोगितामा प्रदेशका १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । छनौट प्रतियोगिताको संपुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकाश समितिले जनाएको छ ।