जुम्ला ,असोज २२ । बाढीको जोखिम भएपछि जुम्लाको तिला गाउँपालिका-३ कुडारीका ११ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
कुडारी खोला बढेर बस्ती डुबाउने जोखिम देखिएपछि खोला नजिकका ११ घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तण गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दका अनुसार बाढीले बगाउने डर भएपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।
जुम्लाकै कनकासुन्दरी-५ मा घर भत्कँदा एकै परिवारका पाँच जना र छिमेकी दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यसैगरी जिल्लाभर घर भत्किएका विभिन्न खबरहरु आइरहेका छन् ।
टेलिफोन नहुँदा जिल्लाभरको क्षति विवरण पूरा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिका-५ का धनबहादुर शाहीको घर भत्किएको छ ।
यसैगरी गुठीचौर गाउँपालिका देपालगाउँमा कमलसिंह खत्री र गोविन्द खत्रीको घर भत्किएर क्षति भएको छ ।
