लक्ष्मण बस्नेत,
तुलसीपुर, फागुन १६ । दाङको तुलसीपुरमा प्रथम जिल्लास्तरीय वडि विल्डिङ च्याम्पियनसीप (मिस्टर दाङ) हुने भएको छ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ र फेन्स फिट्नेस सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा प्रतियोगिता यही फागुन १८ गते शनिबार हुने भएको छ ।
स्वास्थ्य र शारीरिक सौन्र्दयतासँग प्रत्यक्ष जोडिएको शारीरिक सुगठनको खेलको पहुँच अभिवृद्धि गर्ने र स्थानीयस्तरका नव प्रतिभाहरुलाई शारीरिक सुगठन खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित फिट्नेस सेन्टरहरुबाट ३५ बढी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष खिम जिएमले जानकारी दिए ।
५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ प्लस गरी ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा मिस्टर दाङ अर्थात् अलओभर च्याम्पियन, वेष्ट पोजर, राइजिङ प्लेयर, प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उक्त अवसरमा प्रतियोगिताको थप आकर्षणको रुपमा महिला शारीरिक सुगठनको डेमो प्रदर्शन तथा जुम्बा डान्स प्रदर्शन गरिनेछ ।
प्रतियोगिताको मुख्य निर्णायकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रमुख निर्णायक प्रताप काजी बरिया, सहायक निर्णायकमा अनिललाल श्रेष्ठ र शिवध्वज राई दाङ आउने कार्यक्रम रहेको छ ।