तुलसीपुर, असोज २१ । दाङको राप्ती गाउँपालिका वडा नं. ६ सिसहनीयास्थित इलाका प्रहरी कार्यालय सिसहनीयामा बाढी पसेको छ ।
स्थानीय दोलाई खोलाको बाढी पसेपछि त्यहाँ कार्यरत ११ जना प्रहरीसहित हातहतियार, संचारसेट लगाएका महत्वपूर्ण सामाग्री अनेत्र सुरक्षित ठाउँमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
इप्रकामा पानी पसेपछि अहिले त्यहाँ इप्रका गढवा लगाएतको टोलीले उद्धार तथा सरसामान ओसार्ने क्रम जारी रहेको उनले बताए ।
इप्रका सिसहनीयाका प्रहरी टोलीलाई सुरक्षित स्थान सडकमा पु¥याइएको र नेपाल रेडक्रस सोसाइटी संग त्रिपाल लगाएतका आवश्यक सामाग्रीको लागि कुरा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थल तर्फ जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको सुरक्षाअधिकारीहरुको टोली प्रस्थान गरेको प्रबक्ता गौतमले जानकारी दिए ।
एसपी वलीले आँफुहरु पहिरोका कारण घोराही–लमही सडक खण्डको बीचमै रोकिनु परेको जानकारी दिए । लमही नगरपालिका वडा नं. ६ बेलदमारको जंगलमा ठूलो पहिरो खसेको उनले बताए ।
त्यस्तै गौतमका अनसार दोलाई खोलाकै बाढीले राप्ती गाउँपालिका वडा नं. ६ मा एक घर डुवानमा पर्दा एकजान घर भित्र थुनिएको खबर पाएपछि उद्धारका लागि प्रहरी घटनास्थल तर्फ पठाइएको जानकारी दिए ।
