२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर सिटी हस्पिटलमा चोरी गर्ने दुई बालक पक्राउ परे


तुलसीपुर, असोज १६ । शनिबार बिहान २ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित तुलसीपुर सिटी हस्पिटलमा चोरी भयो ।

काउन्टरमा राखेको एक लाख ७४ हजार चोरी भएको थियो । हस्पिताल प्रशासनले चोरी भएको सिसी टिभी फूटेजसहित प्रहरीमा पुगेर निबेदन दियो ।

हस्पिटलको सिटी टिभी फूटेजमा चोरी कार्यमा संलग्न दुई बालक संलग्न रहेको स्पष्ट देखिन्थ्यो ।

हस्पिटलका सुरक्षा गार्ड निदाएको मौका छोपी हस्पिटलमा प्रबेश गरेका उनीहरुले सुरुमा वाइरिङ तारले पैंशा राखेको घर्रा खोल्न प्रयास गरेको सिसी टिभी फूटेजमा देखिएको छ ।

त्यसपछि हस्पिटलको काउन्टरमा राखिएको चाँबीको झुप्पा लगेर एक एक गरि प्रयोग गर्दै खुलेपछि उनीहरुले त्यहाँबाट पैंशा चोरेर लगेको फूटेजमा स्पष्ट देखिएको थियो ।

फूटेजकै आधारमा प्रहरीले उनीहरुलाई पहिचान गर्न सफल भयो । उनीहरु पक्राउ परे । उनीहरु तुलसीपुर – ५ कै १३ र १५ बर्षका बालकहरु थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सिसी टिभी फूटेजकै आधारमा उनीहरुको पहिचान गरि चोरी कार्यमा संलग्न दुबैलाई उनीहरुको घरबाटै नियन्त्रणमा लिएको जानकारी दिए ।

उनीहरुले घरमा लुकाएर राखेको अवस्थामा नगद ६१ हजार मात्रै बरामद भएको र थप अनुसन्धान जारी रहेको डिएसपी मल्लले बताए । अस्पताल प्रशासनले भने एक लाख ७४ हजार चोरी भएको भनेर प्रहरीमा जाहेरी दिएको छ ।

तुलसीपुर क्षेत्रमा चोरीका घटना बढे

शनिबार बिहान तुलसीपुर – ९ बेलुवाकी शोभा बुढाथोकीको घाँटीमा लगाएको सुनको सिक्री एकजना बालकले थुप्न खोजे ।

त्यो देख्नेहरुलाई उनलाई लखेटेर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । १२ बर्षीय ती बालक बीरगंजका रहेको प्रहरीले बताएको छ ।

त्यस्तै १४ गते बेलुकी पख तुलसीपुर – ९ दोघरेबाट सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ३ का १९ बर्षीय शिव बिकले एक ब्यक्तिको मोवाइल र २५ हजार नगद चोरी गरे ।

उनीपनि सिसी टिभीको फूटेजको आधारमा शनिबार पक्राउ परेका छन् ।

सोही दिन तुलसीपुर – ७ राजापुरका १५ बर्षीय एक बालक पक्राउ परे । मोवाइल र मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको तथ्य खुलेपछि उनी पक्राउ परेका हुन ।

यसअघि पनि उनी पटक÷ पटक चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका २९ बर्षीय पूर्व प्रहरी सुदिप चन्द ल्यापटप चोरी अभियोगमा पक्राउ परेका छन् । असोज १३ गते उनले एक जना कर्मचारीको ल्यापटप चोरी गरेका थिए ।

चोरी पछि चन्दले उक्त ल्यापटप तुलसीपुरमा पसल गर्दै आएका ४० बर्षीय नन्दलाल भण्डारीलाई आठ हजारमा बिक्री गरेको तथ्य अनुसन्धान बाट प्रहरीले पत्ता लगायो ।

प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर हाल अनुसन्धान गरि रहेको जानकारी दिएको छ ।

डिएसपी मल्लले चोरी कार्यमा अधिकाँस बालबालिका संलग्न भएको पाइएको बताए । उनले आँफु आएपछि एकै दिन दशदेखि २०÷२२ जनासम्म चोरीमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

दाङको तुलसीपुर क्षेत्रमा चोरीका घटनामा बृद्धी भएको पाइएको छ ।

गत बर्ष तुलसीपुर क्षेत्रमा कुल २३ वटा चोरी सम्बन्धि मुद्दा दर्ता भएकोमा यो बर्ष भदौ यता मात्रै १३ वटा मुद्दा दर्ता भइ सकेको डिएसपी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *