तुलसीपुर, असोज ११ । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीले असोज पाँच गते पत्रकारसंग कुरा गर्दै ६ गतेदेखि नै डोजर लगेर दाङ एयरपोर्ट बिस्तारका लागि जाने बताएकी थिइन ।
तर, उनले भने अनुसार ११ गतेसम्म पनि गरेकी छैनन् । बरु उनले पछिल्लो समय फरककोणसंगको फोन सम्बादमा आँफुले त्यसका लागि सबै सरोकारवालाहरु संग सहमति जुटाउने प्रयास जारी राखेको बताइन ।
‘ म एयरपोर्ट बिस्तारकै लागि सबै सरोकारवालासंग छलफल गरि रहेकी छु,’ उनले भनिन् ‘सबैको सहमतिपछि म डोजर लगेर धावनमार्ग बिस्तारमा लाग्ने छु ।’
असोज ५ गते तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा टरिगाउँ एयरपोर्टबाट बृहत छलफल कार्यक्रमपछि त्यसबारे संयोजन गर्ने जिम्मेवारी मेयर टीकाराम खड्काले श्यानी चौधरीलाई सुम्पिएका थिए । उपमेयर चौधरीले पहिलेदेखि नै आँफुलाई त्यो जिम्मेवारी दिन माग गर्दै आएकी थिइन ।
हाल टरिगाउँ एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालो पत्रे भएको हुँदा साना बिमान मात्रै यहाँ अवतरण हुन सक्छन् । त्यही भएर धावन मार्ग बिस्तार हुनुपर्ने माग उठ्दै आएको छ ।
उपमेयर चौधरीले आँफुलाई त्यो जिम्मेवारी दिए ६ महिना भित्रै बिस्तारको काम पुरा गरेर देखाइदिने दाबी गर्दै आएकी छन् । असोज ६ गते पर्यटनमन्त्री लगाएत तीन मन्त्री एयरपोर्टमा आएको समयमा उपमेयर चौधरीले मनतब्यका क्रममा तीन महिना भित्रै धावन मात्रै बिस्तार गरेर देखाइदिने दाबी गरेकी थिइन ।
तर, उनले भने अनुरुप डोजर लगेर उनी जान नसकेको हुँदा काम उनले कल्पना गरे जस्तै सहज ढंगले अगाडि बढ्ला भन्नेमा धेरैले आशंका गर्न थालेका छन् ।