बाँके,असोज ९ । बाँकेमा चार दिनदेखि दुई बालिका बेपत्ता भएका छन्।
राप्ती सोनारी गाउँपालिका-१ का कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ वर्षीय निशा परियार चार दिनदेखि सम्पर्कबिहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन्।
उनीहरू बेपत्ता भएको तीन दिनपछि बन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीले बताए।
केसीका अनुसार असोज ४ गते बेलुका निशाले बन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। उनीहरू आफन्त र साथी हुन्। उनीहरूले दालभात पकाए पनि खाना नखाएको अवस्थामा फेला परेको केसीले बताए।
निशाका मावली हजुरबुबा भिमबहादुर दमाईले उक्त दिन आफू दाङको दंगीशरण गाउँपालिका-१ गोल्टाकुरीमा काम विशेषले गएको र असोज ५ गते बेलुका घरमा फर्किँदा नातिनीलाई घरमा नदेखेको बताए।
भिमबहादुरका अनुसार निशा उनकी माइली छोरीकी छोरी हुन्।
प्रहरी स्रोतका अनुसार ती दुवै बालिकाका आमाहरू दोस्रो बिहे गरी अन्यत्र गइसकेका छन्। उनीहरू दुवैका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको खुलेको छ। निशा मावली हजुरबुबा र बन्दना सानीआमा र हजुरआमासँग बस्दै आएकी थिइन्।
निशा स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयको कक्षा ४ र बन्दना ३ मा पढ्दै थिए। त्यसदिन निशाले घरमा आफू एक्लै भएको भन्दै बन्दनालाई खाना खान र सुत्न बोलाएकी थिइन्।
केसीका अनुसार उनीहरू पूर्वपश्चिम राजमार्गस्थित कुसुम बजारमा पानी र मकै बेचेर आफ्नो खर्चको आफैं जोहो गर्थे।
‘उनीहरू एकदिन स्कुल पढ्न जाने र एकदिन सडकमा पानी, मकै बेच्ने गर्थे,’ छिमेकी ईश्वरी चापागाईंले भने, ‘उनीहरू एकाएक कहाँ गायब भए होलान्’
बन्दना गत वर्ष आफ्नी सानीआमासँग कामको खोजी गर्ने क्रममा पोखरा पुगेकी थिइन्। त्यहाँ सानीआमासँगै काम गरी फर्किएकी केसीले बताए।
‘दुई बालिका हराएको सूचना पाएलगत्तै हामीले खोजी कार्य जारी राखेका छौं,’ केसीले भने, ‘हामीले सबै युनिटमा उनीहरूको फोटोसहित खोज तलास गर्न आग्रह गरेका छौं।’
उनीहरूको हुलिया टिपेर माथिसम्म पठाइसकेको भए पनि हालसम्म फेला पार्न नसकेको केसीले बताए। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले काकाको घरमा सुत्न जाने भनेर उनीहरू गएको बताए।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षमक (एसपी) श्यामकृष्ण अधिकारीले बालिका हराएको सूचना नआएको र आए पनि तल्लो युनिटमा आएको हुन सक्ने बताए।