२०८२ असार ९ गते मङ्गलवार

दुई महिनादेखि ठप्प सहिद मार्ग,सडक बने पनि दुर्गमलाई सधैँ दुःख

रुकुम,असोज २ । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक सुन्दरताले जति सुन्दर छ, त्यो सुन्दरताभित्र लुकेको पीडा पनि उत्तिकै छ । मुख्य रुपमा सडकको अवस्थाले त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बन्ने गरेको छ । तराईसँग जोड्ने सडक दुुई महिनादेखि ठप्प छ ।

सहिद मार्गले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङसँग पहाडी जिल्ला रोल्पा र प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वलाई जोड्छ ।

दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ, तिला, थवाङ हुँदै रुकुम पूर्वका महत– खवाङबगर–तकसेरालाई सहिद मार्गले जोडेको छ । तर दुुई महिनादेखि रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ६ महत र पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० तकसेरा जोडिन सकेको छैन । भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण सहिद मार्ग ठप्प छ ।

पहिरोका कारण अवरुद्ध सडकको मर्मत सम्भार नहुँदा स्थानीयवासी सास्ती खेपिरहेका छन् । पहिरोका कारण दुुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयवासी औषधि उपचारमात्रै होइन, खाद्यान्न अभावको समस्याले समेत प्रताडित हुनु परिरहेको माडी गाउँपालिका वडा नं। ५, रोल्पाका टोपबहादुर बुढाको भनाइ छ ।

रुकुम पूर्वको भूमे, पुथा उत्तरगंगाको तकसेरा, काँक्री, खबाङबगर, लुकुमवासीहरु औषधिउपचार, खाद्यान्न, सञ्चार सेवाबाट महिनौंदेखि बञ्चित हुनु परिरहेको उनले बताए ।

रुकुम पूर्वको यो पीडा अहिलेको मात्रै होइन । वर्षा सुरु हुनासाथ बर्सेनि यही नियति रुकुम पूर्वका बासिन्दाले झेल्नुपर्दछ । व्यवस्थित सडक पूर्वाधार निर्माण अभावका कारण हिउँदमा मात्रै हिमाली जिल्लाका दुर्गम यी गाउँबासीले सडक यातायातको सुविधा पाउँछन् ।

भुमे गाउँपालिका–१०, तकसेराका मनबीर रोकाले भने, ‘हिउँदमास सडक बन्छ, बर्खा लागेपछि पहिरोले लान्छ । फेरि हिउँदमास कहिले आउला भन्दै कुरेर बस्नुपर्छ ।’

उनले सडकका कारण औषधिउपचार, खाद्यान्न किनमेलका लागि रोल्पा र दाङ झर्न मात्रै नभई गाउँको पीडा बोकेर सदरमुकामसम्म पुग्न पनि बर्खामा समस्या परेको बताए ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *