दाङ, भदौ ३० । रोल्पामा भदौ १६ गते दिउँसो मृत अवस्थामा फेला परेका एक दम्पत्तिको मृत्यु प्रकरण अझैं अन्यौंल अवस्थामै छ ।
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका २५ बर्षीय दुर्गाबहादुर पुन र उनकी ३७ बर्षीया श्रीमती पार्बती पुनको शबमा ठाउँ ठाउँमा खुकुरी प्रहार गरि हत्या गरिएको अवस्थामा शब फेला परेको थियो ।
यी पुन दम्पत्ति एक महिना अगाडिदेखि माडी गाँउपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको खुल्ला टहरोमा बस्दै आएका थिए ।
कुखुरा पाल्न भनेर डाँगीले उक्त टहरो निर्माण गरेको प्रहरीले बताएको छ । जो गाउँ भन्दा एकलास स्थान खोला किनारमा छ ।
गाउँमा जम्मा १२ घर परिवार जति मात्रै बसोबास गर्दै आएका छन् । ती मध्य आधा गाँउले मात्रै पुन दम्पत्ति त्यहाँ बस्न थालेको कुरा थाहाँ पाएका थिए ।
यो बीचमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी)को टोली हप्ता दिन बढी घटनास्थलमा खटिएर अनुसन्धान गरि फर्कि सकेको छ । त्यसअघि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गर्दापनि कुनै सुराक फेला पर्न सकेको थिएन ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार पुन दम्पत्तिको टहरो भित्रै खुकरी प्रहार बाट मृत्यु भएको थियो । फेला परेको खुकुरी उनीहरुकै थियो ।
यो बीचमा तालाबाङ गाउँमा एउटा कुनै मानिस पनि बाहिरबाट नआएको प्रहरीले जानकारी दिएको छ । पुन दम्पत्ति मदिरा सेवन पछि आपसमा विबाद गरि एकले अर्कौलाई खुकुरी प्रहार गरि गम्भीर घाइते भएको र अत्यधिक रक्तश्राबका कारण उनीहरुको मृत्यु भएको आशंका प्रहरी अधिकारीले गरि रहेका छन् ।
पार्वतीले दुर्गासंग दोस्रो बिहे गरेकी थिइन । उनको माइती घर खोटाङ हो । काठमाडौंको इट्टा भट्टामा काम गर्ने क्रममा उनीहरु तीन बर्ष अगाडिदेखि संगै बस्दै आएका थिए । चार महिना अगाडि रोल्पा आएपनि दुर्गाले श्रीमतिलाई आफ्नो घरमासमेत नलगेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
माडी गाँउपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले पनि उनीहरुले आपसमै खुकुरी हानाहान गरेर एकले अर्काको हत्या गरेको जस्तो स्थिति घटनास्थलले देखाएको बताए ।