दाङ, भदौ २७ । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका वडा नं.२ का ६० वर्षीय झुठारी थारुको बाघको आक्रमणबाट मृत्यु भएको छ । उनी भैंसी चराउन गएको समयमा बाघले उनीमाथि आक्रमण गरेको थियो ।
आइतबार बिहान मधुवन –१ स्थित कुसमुनिया सामुदायिक वनमा भैंसी चराउन गएका थारु बेलुका घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।
बेलुका भैंसी घर फर्किएर आएपनि उनी नआएपछि बल्ल उनको खोजी थालिएको थियो ।
निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना, कर्मचारी र स्थानीयसहितको टोलीले थारुको खोजी गरेपनि राति फेला पार्न सकेको थिएन ।
सोमबार बिहान दश बजेतिर मात्रै थारुको शरिरका केही भाग मात्रै फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घुँडा मुनिका दुई वटा खुट्टा, टोपी, छाता र कपडा मात्रै घटनास्थलबाट फेला परेको प्रहरीले बताएको छ ।
घटनास्थलमा फेला परेका थारुको शरिरका शरिरका भागहरु पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।