बुटवल,भदौ २७ । लुम्बिनी प्रदेशले संविधान दिवस मनाउने भएको छ । हरेक वर्ष असोज ३ गतेका दिन मनाइने दिवस लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरी ३ तीन मनाउने भएको हो ।
आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाकार मानसिंह विश्वकर्माले जानकारी दिए ।
जसअनुसार असोज २ गते प्रदेश स्थित सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पहराउने, प्रदेशमा रहेका कार्यालयमा सरसफाई गर्ने, सबै कार्यालयमा दिपावली गर्ने निर्णय गरेको छ ।
यस्तै असोज ३ गते विहान प्रभात फेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरुको नामावली सार्वजनिक गर्ने, स्थानीय टेलिभिजनहरुबाट अन्तरवार्ता, परिसम्वाद लगायत प्रशारण गर्ने सञ्चारमाध्यमहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीयतहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि अनुरोध गर्ने, साझ दिपावली गर्ने, ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरुमा साँझ दिपावली गर्ने, आफ्नो कार्यलयहरुले विवभिन्न नव प्रवर्धानात्मक कार्यक्रम सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
संविधान दिवस मनाउनका लागि १०० सदस्यीय संविधान दिवस २०७९ मुल समारोह समिति गठन गरिएको छ ।