२०८२ जेष्ठ ४ गते शुक्रवार

सिस्ने गाउँपालिकाले दिन थाल्यो भैंसी ब्याय किसानलाई सुत्केरी भत्ता

दाङ, भदौ २६ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले भैंसी ब्याएपछि किसानलाई सुत्केरी भत्ता दिन सुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गत साउनदेखि ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागु गरिएको जानकारी दिए ।

सिस्ने गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउन र किसानलाई प्रोत्साहित गर्न कार्यक्रम लागु गरिएको उनले बताए ।

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख भिमबहादुर झाँक्रीले भदौ २४ गतेसम्म ८ वडा रहेपनि हालसम्म ५,६,७,८ र ३ नम्बर वडाबाट भत्ताको माग गर्दै ३८ जना किसानबाट निबेदन आइसकेको जानकारी दिए ।

वडा नम्बर ५ र ६ बाट सुरु भएको कार्यक्रम अन्तरगत शनिबारसम्म २० जना किसानलाई गोठमै पुगेर भत्ता वितरण गरिएको प्रमुख झाँक्रीले बताए ।

वडा कार्यालयबाट आएका निबेदन संकलन गरि महिनाको अन्तिमतिर फिल्ड भिजिटमा गएर भत्ता उपलब्ध गराउने गरिएको छ ।

पहिलो चरणमा वडा नं. ५ मा १७ र वडा नं. ६ मा तीन वटा भैसी पालक किसानलाई त्यस्तो भत्ता उपलब्ध गराइएको झाँक्रीले जानकारी दिए ।

आइतबार वडा नं. ७, ८ र ३ मा करिब १७ जना भैंसी पालक किसानलाई त्यस्तै भत्ता वितरण गर्न कर्मचारी खटिएको उनले बताए ।

वडा नम्वर ३ मा एउटा , ७ मा ६ वटा र ८ मा १० वटा भैसीलाई सुत्केरी भत्ता उपलब्ध गराइने झाँक्रीले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९ ÷ ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार एउटा सुत्केरी भैसीलाई दुई हजार पाँच सयका दरले भत्ता वितरण गर्न थालेपछि किसान उत्साहित बनेको उनले बताए ।

गाउँपालिकाले ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागु गरेपछि अन्य किसानपनि पशुपालन तर्फ आकर्षित हुन थालेका गाउँपालिकाका अध्यक्ष रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *