शरद रेग्मी, तुलसीपुर, भदौ २३ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले बसपार्कलाई सरसफाइदेखि यात्रुमैत्री बनाउन आग्रह गरेका छन् । बसपार्कलाई यात्रु मैत्री बनाउन यातायात व्यवसायी र त्यसमा संलग्न मजदुरको दायित्व प्रमुख हुनुपर्ने उनले बिहीबार आयोजित छलफल कार्यक्रममा बताएका हुन ।
राज्यको मात्रै मुख ताक्नु भन्दा स्वएंम यातायात ब्यबसायी र मजदुरले त्यो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । बसपार्कमा यात्रु तानातान गर्ने प्रबृतिको अन्त्य गर्न उनले आग्रह गरे । यात्रुले स्वतन्त्र रुपमा चाहेको गाडीमा यात्रा गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हुने उनले बताए ।
यात्रुमाथि जोर जवरजस्ति भए र ती कुरा सुधार नभए कानुनी कारवाही हुने उनले चेतावनी दिएका थिए ।
तुलसीपुर ट्राफिक प्रहरी प्रमुख उत्तम जिसी र तुलसीपुर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले बसपार्कलाई व्यवस्थित बनाउन सबै सरोकारवालाको दायित्व हुने बताएका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र वलीले बसपार्कलाई व्यवस्थित बनाउन विधि र पद्धतिको प्रभावकारी कार्यन्वयन आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहहानगरपालिकाले आधुनिक बसपार्क निर्माण गरेपनि संचालन र व्यवस्थापन गर्ने विषय फितलो हुदा समस्या रहेको उनले तर्क गरे । उक्त संगठनका जिल्ला अध्यक्ष केशवबहादुर भण्डारीले यातायात व्यवसायी एकजुट नहुदा अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेका कारण यात्रुले सहज महशुस गर्न नपाएको बताए ।
त्यसका लागि यातायात मजदुरको आनिबानी सुधार गर्न, दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना, सरसफाई अभियान जस्ता कार्यक्रम संचालन गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, अखिल क्रान्तिकारी यातायात मजदुरका घनश्याम डाँगी, राज यातायात प्रालिका अध्यक्ष गणेश आश्रित र बसपार्क व्यवस्थापनका ठेकेदार भिम बुढाथोकी लगाएतले बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।
राप्ती त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।