२०८१ फाल्गुन २ गते शुक्रवार

डेङ्गुबाट दुई जनाको मृत्यु

बाँके,भदौ २३ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ।

बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा।बद्री चापागाईँले जानकारी दिए।

उनका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए। ८६ वर्षीय वृद्धमा दमका कारण श्वाससप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो।

दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम बढिरहेको छ।

पहिलोपटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रोपटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए।

बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगन्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ।

समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *