घोराही, भदौ ६ । दाङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम अव वडा तहबाटै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट हुँदै आएको विवरण संकलनको काम अव वडा तहबाट हुने भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले दाङमा विवरण संकलनका लागि वडा तहमै अभियान सञ्चालन हुन थालेको जानकारी दिएको छ । जिल्लाका दश स्थानीय तह मध्य सुरुमा आउने आइतवारदेखि घोराही उपमहानगरपालिकाबाट अभियान सुरु हु्ने छ ।
दाङका पाँच लाख बढी १६ बर्षमाथिका जनसंख्यालाई ३ देखि ४ महिनाभित्र राष्ट्रिय परिचयपत्र दिने गरि अभियान सञ्चालन गर्न थालेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्राईले बताए ।
विवरण संकलनका लागि एक वडामा कम्तिमा २ देखि ४ दिनसम्म काम गर्ने महानिर्देशक भट्टराईले योजना सुनाए । सम्वन्धित वडाको नागरिकको मात्रै अभियानका क्रममा विवरण संकलन गरिने उनले बताए ।
दाङमा हालसम्म ४७ हजार ७८ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेको भट्टराईले जानकारी दिए । विवरण संकलन सकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्नेछ ।
अभियानका क्रममा १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार घोराहीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राष्ट्रिय परिचयपत्र बनाउने टोली वडा तहमै आउनु सकारात्मक भएको भन्दै अभियानलाई सवै नागरिकले सहयोग गर्नुपर्ने बताए ।
‘अहिले राष्ट्रिय परिचयपत्र बनाउनका लागि प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा भीड लाग्ने गरेको छ । जसले गर्दा नागरिकले दुःख पाउने गरेका छन्’, प्रमुख शर्माले भने ,‘अव परिचयपत्र बनाउनका लागि टोली वडा तहमै पुग्ने भएपछि सहज हुने आशा छ ।’
कार्यक्रममा राष्ट्रिय परिचयपत्र भनेको के हो रु परिचयपत्र किन बनाउने र बनाउनका लागि के के आवश्यक रहन्छ ? भन्ने बारेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सागरमणि पाण्डेले जानकारी गराएका थिए ।