दाङ, भदौ ४ । बाँकेमा करेन्ट लागेर बाबु छोरोको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ मा शनिबार बिहान ५ बजेतिर अटो रिक्सामा चार्ज गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका ४० वर्षीय बुवा परशुराम कलवारको मृत्यु भएको छ ।
परशुरामकी ८५ बर्षीया आमा रामराजी कलवार घाइते छिन । उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार जारी रहेको छ । उनको अवस्था सामान्ने बन्दै गएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
छोरा बब्लुले अटो रिक्सा चार्ज गर्ने क्रममा कारेन्ट लागेपछि उनलाई बचाउन भन्दै बाबु परशुराम पुगेका थिए । परशुरामलाई समेत करेन्ट लागेपछि उनकी आमा छुटाउन भनेर गएकी थिइन ।
छोरा र नातिलाई बचाउन भनेर गएकी उनलाई करेन्टले झट्का दिएर हुत्याइ दिएको प्रहरीले जानकारी दिएको छ ।
छोराको घटनास्थलमै र बुवाको उपचारका क्रममा नर्सिंङ होममा मृत्यु भएको डिएसपी घर्तीले बताए ।
बाबु छोराको शव पोष्ट मार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।