तुलसीपुर, भदौ २ । राप्ती नदीमा डुँगा चढेर बिद्यालय जाँदै गरेका बिद्यार्थी सवार सानो डुंगा (पटेला) पल्टिदा २५ विद्यार्थी घाइते भएका छन । नदीमा बगेका मध्य तीन बिद्यार्थीको लमहीमा उपचार जारी छ ।
जिल्लाको लमही नगरपालिका वडा नं. ९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका वडा नं. ७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका बिद्यार्थी डुंगा पल्टिदा २५ जना बिद्यार्थी नदीमा खसेको र त्यसमध्य तीन जना बिद्यार्थीले बढी पानी खाएका कारण लमहीमा उपचार जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
लमही नगरपालिका – ९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ बर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय संदीप विकको लमहीमा उपचार जारी रहेको छ । यी बाहेक अन्य सबै बिद्यार्थीको अवस्था सामान्ने रहेको छ ।
६÷७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमता भन्दा बढी विद्यार्थी एकै साथ तार्ने प्रयास गर्दा पल्टिएको अनुमान गरिएको छ ।
उक्त डुँगा राजपुर गाउँपालिका – ७ राताकाँसका दिनाराम विकले चलाएका थिए । बिद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरुको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन् । स्थानीयले बालबालिकाको उद्धार गरेका थिए ।