दाङ, भदौ १ । पानी ठानेर एसिडले मुख धुँदा रोल्पाका एक ब्यक्ति सल्यानमा घाइते भएका छन् ।
रोल्पाको रुम्टीगढी गाउँपालिका वडा नं. ३ घर भइ बिगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षीय बीरबहादुर घर्ती घाइते घाइते भएका छन् ।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का अनुसार बुधबार मध्यान्ह १२ बजेतिर मदिराले मातेका घर्तीले पानी ठानेर ग्यालिनबाट सारेर मुख धुन खोजेका थिए ।
उनी गंगा रेजिन एण्ड टप अप खोटो संकलन कम्पनीका लागि काम गर्दै आएका मजदुर हुन । उक्त कम्पनीले सल्लाको रुखवाट खोटो संकलनका लागि एसिड प्रयोग गर्दै आएको छ ।
मदिरा सवेन गरेका घर्तीले पानी ठानेर ५ लिटरको ग्यालिनमा राखेको एसिड खन्याएर मुख धोएपछि अनुहार र टाउको तेजावले पोलेर घाउ भएको डिएसपी खड्काले बताए ।
घाइतेलाई उपचारका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल चौरजहारी तर्फ पठाउने प्रयास भइरहेको खड्काले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले तीन लिटर एसिडसहितको ग्यालिन बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।