तुलसीपुर,साउन ३१ । किसानहरुले नयाँ प्रविधिको प्रयोग गरे गरिएको मकै खेतीमा सुधार देखिएको छ ।
मकै खेतीमा रोग प्रकोप नियन्त्रणमा रहेको छ भने उत्पादन समेत राम्रो देखिएको छ भने परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति पु¥याएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र करिब ३५ सय हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका मकै खेती गरिएको छ ।
ती मध्ये परीक्षणकारुपमा यो वर्ष नयाँ प्रविधिको प्रयोग गरेर मकै खेती गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ लोककुमारी गिरीले ६ कठ्ठा खेतमा नयाँ प्रविधिबाट मकै खेती गरेका छन ।
उनले गरेको मकै खेतीमा रोग प्रकोप देखिएको छैन भने उत्पादन समेत राम्रो देखिएको छ । तर छिमेकीले लगाएको मकै बारीमा रोग किराको प्रकोपले मकैका बोट सुकेका छन् ।
नयाँ प्रविधिमा लाइनमा प्राविधिक यन्त्रको प्रयोग गरेर मकै रोपिने गरिन्छ भने दुई पटक गोडमेल गर्ने गरिन्छ ।
परम्परागत शैलीमा भने हलोको सियोमा मकै रोप्ने र एक पटक गोडमेल गर्ने गरिन्छ ।
पुनको आठ कठ्ठा बारीमा गरिएको मकै खेतीमा रोग किरा लागेको छैन भने एउटा बोटमा दुई वटा मकैका कोसा लागेका छन् भने परम्परागत खेतीबाट गरिएको मकै खेतीमा एक वटा कोसा लागेको भने रोग किराको प्रकोप बढी देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमध्ये तीस प्रतिशत क्षेत्रफलमा मकै खेतीमा रोग किराको प्रकोप देखिएको बताए ।
किसानहरुले मकै खेती गर्नेक्रममा माटोको उपचार र मकै खेतीमा परम्परागत शैलीका कारण रोग किराको प्रकोप देखिएको गौतमले बताए ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १,२,८ वडामा सबैभन्दा बढी मकै खेतीमा क्षति पुगेको छ ।
साना किसान परियोजना दाङका संयोजक सुधा मिश्रले यो वर्ष परीक्षणका रुपमा खेती गरिएको र परीक्षणकै क्रममा गरिएको खेतीमा उत्पादन बढी र रोग किरा कम देखिएकाले आगामी वर्षदेखि व्यवसायिकरुपमा उत्पादनका लागि अघि बढाइने बताए ।
परियोजनाले किसानहरुका लागि प्रविधियुक्त मेसिन उपलब्ध गराउँदै आएको छ ।
निरीक्षणका क्रममा पुगेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नयाँ प्रविधिका प्रयोगका साथै रैथाने प्रजातिको मकैको बिउँ रोप्ने कार्यलाई समेत प्रोत्साहन गरिने बताए ।
उनले मकै रोप्नका लागि किसानहरुलाई समूहमा प्रविधियुक्त यन्त्र वितरण गर्न सकिने बताए ।
वडा नम्बर ८का वडाध्यक्ष धर्म वलीले परीक्षणकारुपमा मात्रै गरिएको मकै खेतीलाई व्यावसायिकरुपमा उत्पादन गर्नका लागि वडाको तर्फबाट अभियानकै रुपमा अघि सारिने बताए
निरीक्षणका क्रममा सबैभन्दा बढी वडा नम्बर १मा मकैमा रोग देखिएको थियो ।
त्यस वडामा किसानहरुलाई बिउ चक्र परिवर्तन र माटोको उपचार गरेर मात्रै बाली लगाउन सुझाव दिएपनि कार्यान्वयन नगर्दा थप समस्या देखिएको कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिए
