दाङ, साउन ३१ । बुटवलमा होटलमा बास बसेका दाङकी एक महिला र धादिङका पुरूष मृत फेला परेका छन ।
दाङ घर भएकी अन्दाजी ३३ वर्षीया पुष्पा नामकी महिला मृत अवस्थामा फेला परेकी हुन । महिलाको थर र घरको पूरा ठेगाना खुल्न बाँकी नै रहेको प्रहरीले बताएको छ ।
अनुसन्धानबाट पुष्पाका श्रीमान बैदेशिक रोजगारीको सिलशिलामा बिदेशमा रहेको भन्ने कुरा सुन्नमा आएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ बर्षीय सिताराम भुजेलपनि मृत फेला परेका छन् ।
रुपेन्देही बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं.१३४ मा उनीहरु आइतबार राति बसेका थिए ।
सोमबार बिहान कोठा खोलेर हेर्दा पुष्पा पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
दुवै शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।