तुलसीपुर,साउन २८ । दाङ भ्याली यातायात प्रालिको प्रथम वार्षिक उत्सव तथा साधारण सभा शनिवार भएको छ ।
‘सुरक्षित यात्रा,हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ शनिवार तुलसीपुरमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नेपाल सरकारले ऐन–कानुन नबनाउँदा अटो व्यवसायिहरु अलमलमा परेको बताए ।
‘व्यवसायिलाई मर्यादित र आत्मनिर्भर बनाउने राज्यको दायित्व हो । सरकारले ऐन–कानुन नबनाउँदा अटो व्यवसायि वर्गिकरण बिहिन भएका छन,’ खड्काले भने‘ तर पनि दुुरदराजमा रहेका नागरिकको आधारभुत सेवाका लागि अटो व्यवसायी खटिरहनुभएको छ । तपाईहरुको कामप्रति म सम्मान प्रकट गर्दछु ।’
नगरप्रमुख खड्काले यातायात सम्बन्धि नीति नियम बनाउने अधिकार स्थानिय निकायसंग नभएको भन्दै त्यसका लागि संघले नै पहल गर्नु पर्ने तर्क गरे ।
भाडामा एकरुपता ल्याउन र तुलसीपुरका वडा नं.५ र ६ वडा भित्रका अटोचालकको लागि अस्थायी रुपमा भएपनि पार्किङ्को व्यवस्थापन गरिदिने प्रतिबद्धता खड्काले जनाए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले चालक आफु सुरक्षित भएमा मात्र अरुलाई सुरक्षित बनाउन सक्ने बताए ।
‘सडक सुरक्षित हुनु, आफू स्वंम सुरक्षित हुनु हो,’ प्रमुख परियारले भने ‘चालकले अनिवार्य अनुमति पत्र लिएर मात्र चलाउने नियम हुनु पर्छ ।’
अटोको मेकानिजम हेरेर सीट क्षमतालाई ध्यान दिएर मात्र चलाउने र मदिरा सेवन नगरि सवारी नचलाउने, पार्किङ ब्यबस्थित गर्ने, भाडाको एकरूपता हुनुपर्ने, वैज्ञानिक भाडादर सूची कायम गर्ने, रात्रिकालिन समयमा बढी भाडा नलिने नियम बनाउन आवश्यक रहेको उनले बताए ।
उनले दुर्घटना न्यूनिकरण गर्नका निम्ति स्थानीय सरकारले सार्वजनिक पार्किङको व्यवस्था गर्न जरुरी रहेको तर्क गरे ।
प्रालिका अध्यक्ष वेदप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुशील बस्नेतले राज्य र स्थानीय सरकारले ब्यबसायिको समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले अटो ब्यबसायिको हक हितको पक्षमा संस्था बलियो हुनुपर्ने बताए ।
दाङ भ्याली यातयात प्रालिका कार्यालय प्रमुख महेन्द्र महराले पछिल्लो समय पेट्रोलको मूल्य वृद्धि भैरहंदा भाडादरमा वृद्धि नहुँदा ब्यबसायी मर्काका परेको बताए ।
इजाजत पत्रको समस्या,कोरोनापछि यातायात ब्याबसाय अटो रिक्साको लागि लाइसेन्सको आवेदन नखुल्नु, निम्न वर्गले मात्र अटो ब्यबसाय गर्ने हुँदा पेट्रोलको मूल्य बढ्ने तर भाडादर वृद्धि नहुँदा बिमा गर्दादेखि सर्भिसिङ्ग गर्दा पैसा पनि नहुने समस्या जस्ता समस्याहरु कायमै रहेको बताए ।
त्यस अवसरमा जेष्ठ नागरिक अटो ब्यबसायी तोजबहादुर डाँगी, ट्राफिक नियम पालना गरी अटो चलाउने ७ जना चालकहरुलाई नगदसहित सम्मान गरिएको छ ।
त्यस्तै संस्थामा उत्कृष्ट काम गर्ने दूई जना कर्मचारी सहित २२ जना अटोचालक,विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसस्थाहरुलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन पत्रकार आशिष केसी र रिजु लामिछानेले गरेका थिए ।