२०८१ फाल्गुन २ गते शुक्रवार

लागू पदार्थको विक्री वितरण र सेवनको गढ बन्दै कोहलपुर

नेपालगञ्ज, साउन २८ । नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ ।

प्रहरी तथा लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पछिल्लो समय बाँकेको कोहलपुर क्षेत्रमा लागूऔषधको कारोबार र सेवन बढेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पछिल्लो समयमा कोहलपुरबाट लागूऔषधिका ‘नामुद’ कारोबारीसहित ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै गएकाले बाँकेको दोस्रो ठूलो बजार कोहलपुर लागूऔषधको ‘अखडा’ बनेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पछिल्लो पटक प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–२ घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ एनटिभी रोडस्थित डेविट खाजा घर सञ्चालन गर्दै आएका ६६ वर्षीया मिना मल्ल, ३७ वर्षीय उनका छोरा राजेश मल्ल र सोही स्थान बस्ने २७ वर्षीय रमेश खनाललाई कोहलपुर प्रहरीले ३ ग्राम ४० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्ने डेविट खाजा घर सञ्चालक मिना मल्ल कोहलपुर क्षेत्रको नामुद लागूऔषध कारोबारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए ।

उनले लागूऔषधबारे धेरै जनगुनासो आएपछि प्रहरीले प्राथमिकतामा राखेको जनाए ।

डिएसपी मल्लका अनुसार प्रहरीले एक महिनाको अवधिमा २४ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

उनले १०४ ग्राम ९८२ मिलिग्राम ब्राउन सुगरसहित १४ जना, तीन किलो ८०० ग्राम अफिमसहित एक जना, ३९ ट्याब्लेट नाइट्राभेटसहित एक जना र तीन किलो ७५० ग्राम गाँजासहित एक जना पक्राउ परेको बताए ।

प्रहरीले यी घटनामा १७ वटा मुद्दा दर्ता गरेको छ ।

खुल्ला नाका भएकाले कोहलपुरसम्म सहजै लागू पदार्थ पुग्ने गरेको प्रहरीको भनाइ छ ।

मुख्य नाकामा कडाइ गरिए पनि साइड नाका र दुर्गमका नाकाबाट लागू पदार्थ भित्र्याएर सिधै कोहलपुर पु¥याई त्यहाँबाट सुर्खेत, दाङ, कैलालीसम्म लैजाने गरिएको पाइएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयले भने लागूऔषध नियन्त्रणका लागि कडा अभियान चलाएकाले दैनिकजसो लागूऔषधिसहित मानिसहरु पक्राउ परिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *