२०८२ असार १ गते सोमवार

नेसंविको अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन शिलान्यास

दाङ, साउन २८ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको संयुक्त भवनको आज शनिबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।

नेसंवि सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैँयाले वैदिक विधिपूर्वक भवनको शिलान्यास गरेका हुन ।


भवन शिलान्यासका क्रममा प्रा. मजगैँयाले अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन निर्माणसँगै विश्वविद्यालयमा अध्ययन अनुसन्धानका कार्यले थप गति लिने विश्वास व्यक्त गरे । यसबाट दाङको प्रतिष्ठासमेत वृद्धि हुने धारणा उनले व्यक्त गरे ।


शिलान्यास समारोहमा नेसंविका शिक्षाध्यक्ष एवम् अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारी, सेवा आयोगका सदस्य प्रा. मुरलीमोहन बास्तोला, नेसंविका पूर्वशिक्षाध्यक्ष एवम् अनुसन्धान परिषद् सदस्य प्रा.डा. भागवतप्रसाद शर्मा, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहित विश्वविद्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


२२ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ९.३७ मिटर उचाइको उक्त भवन साढे दुई तल्लाको हुने छ । विश्वविद्यालयको पूर्वी प्रवेशद्वारदेखि केही दक्षिणतिर रत्न केन्द्रीय पुस्तकालय जाने बाटोमा सेवा आयोगको भवनसँगै भवन निर्माण हुन लागेको छ ।


भवन कूल २१७.४५ वर्गमिटर क्षेत्रफलमा निर्माण हुन लागेको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेलले जानकारी दिए । भवनको कूल लागत भ्याटसहित २ करोड ८ लाख अनुमान गरिएकोमा ठेकेदार कम्पनीले १ करोड ७८ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको उनले बताए ।


भवनको निर्माणको जिम्मा तुलसीपुरस्थित निर्माण कम्पनी प्रेमधन निर्माण सेवाले लिएको छ । भवन पूर्णतः भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी निर्माण गरिने भवनको डिजाइन र अनुगमन निरीक्षणसमेतका लागि छानिएका मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी घोराहीका इन्जिनियर देवेन्द्र खतिवडाले बताए ।


भवनलाई आकर्षक बनाउनका लागि यसको बाहिरी भागमा चाइनिज इँटाको प्रयोग गरिने छ । भवनका पहिलो र दोस्रो तलामा अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यालयहरू रहने छन् । कार्यालयमा प्रतीक्षा कक्षसहितको कार्यकारी निर्देशकको कक्ष एउटा, कर्मचारीका लागि कक्ष तीनवटा, भान्साकोठा एउटा, स्टोर कक्ष एउटा, पुस्तकालय एउटा र बाहिरी प्रतीक्षाकक्षका लागि थोरै खाली ठाउँ रहने छ ।


हरेक तल्लामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय समेत हुनेछ । भवनको सबैभन्दा माथिल्लो तलामा प्रतीक्षालय र एउटा मझौला आकारको बैठक कक्षका साथै शौचालय रहने अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *