रुकुम पश्चिम,साउन २८ । रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । त्रिवेणी गाउँपालिका–२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएको हो ।
वर्षाका कारण आएको पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएको हो ।
स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएको तर करिश्माले बाटोमै बच्चा जन्माएको उनकी सासुआमा कौशिला पुनले जानकारी दिइन ।
करिश्मालाई हिजो बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो । ‘गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियो,’ कौशिलाले भनिन् ‘करिश्माको निरन्तर रगत बगिरहेको छ ।’
उनले करिश्मा बेहोस हुँदै होसमा आउँदै गरेको बताइन । उनले स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पुर्याउन मुश्किल भएको बताइन ।
रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएको छ । यो सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।