२०८१ असार २९ गते शुक्रवार

दाङमा थपिए ९ हजार २ सय २२ नयाँ मतदाता

६ पालिकाका १६ मतदान स्थल अन्यत्र सारियो

तुलसीपुर, साउन २२ । दाङमा ९ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका छन् ।

स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सकंलन अभियानबाट ती नयाँ मतदाता थपिएका हुन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै साउन २० गतेदेखि मतदाता नामावली सकंलन कार्य हाललाई स्थगित गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कंवरले मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म ४ हजार ७ सय ४९ जना पुरुष र ४ हजार ४ सय ७३ जना महिला मतदाता थपिएको फरककोणलाई बताए ।

कार्यालयमा बाहिरी जिल्लाका २ सय ३७ मतदाताले मतदाता नामावली दर्ता गरेका छन । यसअघि दाङमा ४ लाख ९ हजार ९०२ जना मतदाता कायम थिए ।

असार १ गतेबाट सुरु भएको मतदाता नामावली संकलन अभियानमा ९ हजार २ सय २२ मतदाता थपिएसगै जिल्लामा ४ लाख १९ हजार १ सय २४ मतदाता कायम भएका छन् ।

मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै साथ गर्ने गरि तोकिएको छ । दाङमा पनि यसको आन्तरिक तयारी तीव्र पारिएको सूचना अधिकारी कंवरले बताए ।

कार्यालयले जिल्लास्थित राजनीतिक दल, दाङका दश वटै पालिका प्रमुख एवं अध्यक्ष, सुरक्षा निकाय प्रमुखसंग मतदान केन्द्र र मतदान स्थलको अवस्था तथा पुनरावलोकन बारेमा छलफल गरेको छ ।

छलफलपछि निर्वाचन प्रयोजनका लागि यसअघि तोकिएका मतदान स्थल थप नगर्ने गरि केही अपायक ठाउँको विकल्प खोज्दै सबैको सहमतिमा फरक ठाउँमा मतदान स्थल तोकिएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले फरककोणलाई जानकारी दिए ।

उनका अनुसार जिल्लाका ६ वटा पालिकाका १६ वटा मतदान स्थललाई अन्यत्र सार्ने निर्णय भएको छ ।

यसअघि गठित कार्यदलले गरेको सिफारिसका आधारमा गढवामा ४ वटा, घोराहीमा ३ , तुलसीपुरमा १ , बंगलाचुलीमा ५ , राप्ती गाउँपालिकामा १ र शान्तिनगर गाउँपालिकामा २ गरि १६ मतदान स्थललाई पायक ठाउँमा सारिएको छ ।

निर्वाचन आयोगले समयको अभावका कारण तयारी नपुग्ने भन्दै साविककै संख्यामा रहने गरी अपायक ठाउँमा रहेका मतदान स्थलको मात्रै विकल्प खोज्न सकिने गरि परिपत्र गरेको थियो ।

त्यसैका आधारमा जिल्लामा पनि मतदान केन्द्र नथपिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले बताए ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *