२०८१ बैशाख १९ गते बुधवार

सल्यानमा बलात्कारका घटना वर्षेनी बढ्दै

सल्यान,साउन १९ । सल्यानमा बलात्कारका घटना बर्सेनी बढ्दै छन् । सरकारले बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा पनि ल्याइरहेको छ । तर पनि सल्यानमा यस्ता घटना कम हुनुका सट्टा बढेको बढ्यै छन् । कतिपय घटनामा त आफन्तकै संलग्नता पाइएको छ ।

गत असार २२ गते सल्यानको कुमाख गाउँपालिकाकी १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भयो । ठूलीआमाको घरमा सुत्न गएकी बालिका अपरिचित व्यक्तिबाट बलात्कृत भएकी हुन् ।

बलात्कारको आरोपमा प्रहरीले जाजरकोटका दुई युवालाई पक्राउ गर्‍यो । यसअघि फागुन २० गते मानसिक सन्तुलन ठीक नभएकी १७ वर्षिया बालिका छिमेकी काका नाता पर्नेबाटै बलात्कृत भइन् ।

सल्यानमा गत आर्थिक वर्षभित्र ३७ वटा बलात्कारका घटनाका उजुरी प्रहरीकोमा दर्ता भएका छन् । आफन्तैबाट बालिका बलात्कृत हुनुमा मादक पर्दाथ सेवन तथा अपराधिक मनोवृतिको प्रमुख कारण देखिएको छ ।

कतिपय बलात्कार र बलात्कार प्रयासका घटना प्रेम सम्बन्धका कारण पनि हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । बलात्कारसँगै सबै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन सकेका छैनन् ।

जिल्ला अदालत सल्यानमा २०७८ साल साउन देखि २०७९ साल असारसम्म ६४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता छन् । ती मध्ये ३० वटा फर्स्यौट भएका छन् भने ३४ वटा मुद्धा विचाराधीन छन् ।

अदालतको तथ्यांक अनुसार धेरै जसो घटनामा बालिका पीडित भएको देखिन्छ ।

बलात्कार र बलात्कार प्रयासका थुप्रै कानुन निर्माण र सजायको माग भए पनि घटनामा कमी आउन सकेको छैन । यस्ता घटनामा तत्काल उजुरी गर्न र अनुसन्धानमा सहयोग पुर्‍याउन प्रहरीले पीडित पक्षसँग अनुरोध गरे पनि ढिलो गरि उजुरी आउनुले अपराधि उम्कने खतरा बढेको देखिन्छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *