२०८३ भाद्र १२ गते शुक्रवार

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ,साउन १७ । गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन ।

गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन ।

उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिइ आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन । उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिए ।

गए राति म्याग्दीको मालिका गाउँपालिका २ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी भइरहेको बताए ।

यता नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर महानगर २९ केराबारीमा पहिरो खस्दा सडक बन्द भएको छ । लेदो बगिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।

मुग्लिङ–नारायणगढ सडक खण्डकै २० किलो र २१ किलो भन्ने ठाउँमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा गाडीहरू रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने काम भइरहेको प्रजिअ तामाङले बताए ।

सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *