प्रमोद आचार्य, दंगीशरण,साउन १६ । सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला दंगीशरण गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हो । सोही निर्णय अन्तरगत वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात पहिलो दिन वडा न १ देखि शुरु गरेको छ ।
सोमवार एक औपचारिक कार्यक्रमका बिच पालिका अध्यक्ष सम्भु गिरी,प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि , वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी लागायतले भत्ता बितरण गरि सामाजिक सुरक्षा भत्ताको औपचारिक शुभारम्भ गरेका हुन ।
बैंकिङ प्रणाली मार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका साथै चुनावी प्रतिबद्धता अनुसार गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पुरयाएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
दंगीशरणका ३ र ४ वडा बैंकको नजिकको दुरिमा रहेकाले ५ वटा वडाका लाभग्राहीको ल्ऋऋ बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइ सकिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।
उनले वडा न १ को भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ हुने र घण्टौ सम्मा लाइन बस्नु पर्ने भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पु¥याएर वितरण गर्न थालिएको बताए ।
उनले हेकुलि स्थित एनसिसि विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताए ।
त्यस्तै गाउँपालिकाले कार्यतालिका नै बनाएर सोमवार देखि वडा न १ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अम्मर बहादुर वलिले जानकारी दिए ।
उनका अनुसार १६ गते आज वडा न १ को बाँकीमा १७ गते वडा न २ को कौवाघारिमा,२५ गते वडा न ५ को नन्द्रागाउ ,१९ र २० गते वडा न ६ को श्रीगाउमा ,२२ र २३ गते वडा न ७ को श्रीगाउमा ,२९ र ३० गते वडा न ३ का लागि एनसिसि बैंक बैबाङ बाट , र वडा न ४ का लागि बैंकले अग्रिम रुपमा जानकारी गराउने कार्य तालिका रहेको छ ।
गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले बेहोर्ने जनाएको छ
।
सोमवार वडा न १ का २११ लाभग्राहीलाई वडाबाटै सहज तवरले भत्ता वितरण गरिएको एनसिसि बैंक हेकुली शाखाका प्रमुख एकराज केसीले जानकारी दिए । पालिकाबाट हुने हरेक काम कुराहरूलाइ बैंकसगं जोडेर पालिकाको हरेक काममा साथ दिने समेत प्रतिबद्धता ब्यक्त गरे ।
दंगीशरण गाउँपालिकाले बैंकको पहँुच देखि टाढा रहेका ५ वटा वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ ।
ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उनीहरुको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।