दाङ, साउन ११ । बाँके कोहलपुरको पार्वतिपुरमा एक दम्पत्ति हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले नेपालगन्जबाट मध्य राति पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४ का २५ कृष्ण गडरिया र उनकी २३ श्रीमति अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
एक बर्ष पहिले बिहे गरेका गडरिया दम्पत्तिको हत्यामा नेपालगन्ज उपमहानगरपालिका १९ सूर्यगाँउका १९ राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ बर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष घटना स्वीकारी सकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
पक्राउ परेकाहरुले घटना स्वीकार गरि सकेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका मध्य राजनको साथबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । राजनले घटना घटाउँदा उक्त नलकटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।
कृष्णका सहोदर दाजु बिजयकुमार र उनकी श्रीमति रेखाको योजनामा नेपालगन्जकै राजन र सकिललाई पाँच लाख रुपैंया दिने सर्तमा हत्या भएको तथ्य खुलेको प्रहरीले बताएको छ ।
डेढ महिना अगाडि नै दुई लाख रुपैंया उनीहरुले बुझिसकेको र घटना घटाएको दिन भन्दा अघिल्लो दिन पचार हजार दिएको प्रहरीले बताएको छ ।
बाँकी साढे दुई लाख केही समय पछि दिने सहमितमा हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी मल्लका अनुसार घटनास्थलमा उक्त पेस्तोलबाट तर्साउनका लागि एक फायर भएको देखिएपनि गडरिया दम्पत्तिको हत्या घाँटीमा डोरीले कस्दा निसास्सियर तथा हातको नशापनि काटिएको हुँदा अत्यधिक रक्तश्राबबाट भएको तथ्य पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको थियो ।
घटना अनुसन्धानका लागि जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप भएको छ ।

