तुलसीपुर, साउन ११ । ब्यक्ति अपहरण गरि सात लाख फिरौति मागेको अभियोग खेपेका ७ जनालाई नौं दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई बुधबार नौं दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले फरककोणलाई बताए ।
दाङको बबई गाउँपालिका वडा नं. ४ का ३५ बर्षीय लिला बिक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती (मार्सल)सहित ६ जना ब्यक्ति अपहरण तथा फिरौती मागेको अभियोगमा तुलसीपुरबाट पक्राउ परेका थिए ।
उनीहरुले युवतिको प्रयोग गरि काठमाडौंबाट आउँदै गरेका एक दैलेखका युवकलाई बुटवल झरेपछि त्यहाँबाट अहपरण गरि तुलसीपुर ल्याएर बन्धक बनाएका थिए ।
होटेलमा ल्याई बन्धक बनाइ सात लाख रुपैंया फिरौती मागेको हुँदा उनीहरुलाई पक्राउ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी अर्यालले बताए ।
पक्राउ परेका मध्य बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओबादी केन्द्रको वाइसियलका नेताहरु हुन ।
डिएसपी अर्यालका अनुसार ब्यक्ति अपहरण तथा फिरौती माग्ने कार्यमा संलग्न अन्य ब्यक्तिहरु दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.– ४ खाद्रे का २५ बर्षीय शुकलाल बिक, जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ का २० बर्षीय मनोज थारु, प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ७ घर भइ हाल दाङको तुलसीपुर – ६ का २४ बर्षीय जनक कुँवरपनि थिए ।
कुँवर पेशाले बागमति प्रदेश ०१–०२५ च ८७२९ नम्बरको को गाडी र सोही गाडी चालक हुन । ब्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिनु परेको इप्रका प्रमुख अर्यालले बताए ।
उनीहरुको पूर्व योजना अनुसार दाङ तुलसीपुर– ७ की २६ बर्षीया निर्मला बिकले दैलेख जिल्लाको चामुन्डाबिन्द्रसैनी नगरपालिका वडा नं. ३ का २७ बर्षीय केशवकुमार बिकलाई फोन गरि भेट्न भनेर बुटवल भेट्न बोलाएकी थिइन ।
बुटवल लगतै राति ९ बजेतिर केशवकुमार बिकमाथि कुटपिट गरि गाडीमा जवरजस्ती राखिएको कुरा खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।
उक्त समुहले केशबलाई दाङको तुलसीपुर उपमहागरपालिका वडा नं. – ५ को सल्यान रोडस्थित युवम होटेलमा ल्याएर राखे ।
त्यहाँ उनीहरुले केशबसंग सात लाख फिरौति मागेको र नदिए जे पनि हुन सक्ने चेतावनी दिएको तथ्थ खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे दैलेखबाट केशबकी श्रीमतिले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको तथा उद्धारको लागि सहयोग गर्न आग्रह गरेपछि बल्ल केशब अपहरणमा परेको कुरा प्रहरीले जानकारी पाएको थियो ।
लगतै इप्रका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर केशबलाई उद्धार गरेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी अर्यालले बताए ।