२०८२ जेष्ठ ४ गते शुक्रवार

कपुरकोटमा सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य सेवा प्रदान गरिने

शंकर केसी, सल्यान, साउन ११ । सल्यानको कपुरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि आफ्नो पालिका भित्रका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा सुरु गरेको छ ।
पालिकाका ६ वटै वडा स्थित स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।

‘स्वास्थ्य सेवाको सर्वव्यापी पहुँचलाई जोड दिदै हामीले नीति तथा कार्यक्रम पनि पारित गरेको छौँ, त्यसै अनुसार शनिबार लगाएत अन्य सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने र सेवा दिने व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष पुनले भने ।

आवश्यक जनशक्तिको व्यवस्थापनसहित विदाको दिनमा पनि आधारभुत तथा आकष्मिक स्वास्थ्य सेवा सुरु गरिने भएको छ ।

सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य सेवा प्रवाह हुनेबारे सबै पालिकावासीलाई जानकारी गराउने गरी सूचना सम्प्रेशन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए ।
विदाको दिनमा पनि स्वास्थ्य संस्था खोलेर सेवा दिने स्वास्थ्यकर्मीको सुविधाका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको उनको भनाई छ ।

सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाउनका लागि यस्तो व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा गरिने लगानी स्थानीयको उपचारमा सकारात्मक प्रभाव पार्ने खालको हुनु जरुरी रहेको उनले जोड दिए ।

खोप तथा पोषण कार्यक्रम, बालरोग व्यवस्थापन तथा नवजात शिशु स्याहार कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा, रोग नियन्त्रण तथा महिला स्वास्थ्य स्वयमसेविका जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *