दाङ, साउन ३० । सल्यानको कुपिन्डे दहमा टिकटक बनाउन भनेर पसेका युवा डुबेर बेत्तपा भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.६ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्दै आएका ३७ बर्षीय बेदबहादुर बस्नेत डुबेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
जिल्लाको वनगाड कुपिन्डे नगरपालिका वडा नं. ८ बाबियाचौरस्थित कुपिन्डे दहमा दिउँसो साढे १२ बजेतिर बस्नेत टिकटक बनाउने भन्दै प्रबेश गरेका थिए ।
बस्नेत कुपिण्डे दहको भ्रमणको लागि भनेर धादिङ जिल्लाको खानविस गाउँपालिका वडा नं. ३ का मुलबहादुर तामाङसंगै पुगेका थिए । बैदेशिक रोजगारीका क्रममा दुबईमा काम गर्ने क्रममा बस्नेत र तामाङका बीचमा मित्रता कायम भएको थियो । त्यसैले बस्नेत तामाङलाई लिएर घुम्न सल्यान गएका थिए ।
सल्यान सदरमुकामबाट अटोरिक्सा मार्फत गएका उनीहरु कुपिण्डे दहमा पुगेपछि बस्नेत टिकटक बनाउन भन्दै तालमा प्रबेश गरेका थिए । साथी तामाङलाई बाहिर बसेर भिडियो खिच्न लगाएका बस्नेत भने आँफु फर्किएर आउन नसकेपछि उनैले बस्नेत डुबेको सूचना प्रहरीलाई दिएका थिए ।
सूचना पाउनासाथ प्रहरी सहायक निरिक्षक सनतकुमार शाहको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सञ्तोष खनालको कमाण्डमा थप पाँच जनाको टोली परिचालन भएको छ ।
घटनास्थल पुगेका प्रहरी मध्य कोही पनि राम्रो पौडीबाज नभएको हुँदा खोजीका लागि दहमा भने कोही पसेका छैनन् । जिल्ला प्रहरी प्रमुख खड्काले बाहिरी जिल्लाबाट गोताखोर बोलाउने पहलहरु भइरहेको जानकारी दिए ।
२०७५ सालमा पनि एक जना युवक कुपिण्डे दहमा डुबेर बेपत्ता भएको २८ दिन पछि मात्रै फेला परेका थिए ।