तुलसीपुर, साउन १० । तुलसीपुरमा कुखुरा चोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका – १२ स्थित चुडामणी ढुंगेलको कुखुरा खोरबाट दुई वटा बदिया भाले चोरी गरि भाग्दै गरेको अवस्थामा स्थानीयले कुखुरा चोर रातिमा पक्राउ गरेका हुन ।
सोमबार मध्यराति खेतमा पानी हेर्न जाने क्रममा स्थानीयले देखेपछि ढुंगेलाई खबर भएको थियो । त्यसपछि एक जनालाई कुखुराको भालेसहित र अर्का एक जना भाग्न सफल भएपनि पछि घरबाट नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
कुखुरा चोरी अभियोगमा पक्राउ परेका दुबै जनालाई इप्रका तुलसीपुरमा राखिएको छ । प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
पीडितले लिखित जाहेरी दिएपछि उनीहरुको नाम सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार