दाङ,फागुन ४ । नेपाल सितोरियो कराँटेको दिक्षान्त समारोह तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुरस्थित अरनिको मैदानमा शुक्रवार एक औपचारिक कार्यक्रम गरेर दिक्षान्त समारोह भएको हो ।
कराँटे प्रशिक्षक पदमबहादुर बस्नेतको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर तथा उपमहानगरपालिका स्तरिय फूटवल संघका अध्यक्ष पवनकुमार योगीको प्रमुख आथित्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि योगीले सिकेको सीप निरन्तर अभ्यासले मात्रै परिस्कृत गर्न सकिने हुँदा निरन्तर साधना मार्फत राम्रो खेलाडी बन्न सकिने बताए । कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय तेक्वान्दो संघका सदस्य सुमन घलेले खेलमा अनुसाशन महत्वपूर्ण हुने भन्दै सिकेको सिपको दुरुपयोग नगर्न आग्रह गरे ।
त्यस्तै दाङ जिल्ला फूटवल संघका अध्यक्ष सुशिल श्रेष्ठले आफुले सिकेको सिप अरुलाई हस्तान्तरण नगर्दा सम्म त्यसको अर्थ नरहने हुँदा आफुजस्तै खेलाडी उत्पादनमा लाग्न दिक्षान्त भएका खेलाडीलाई आग्रह गरे । त्यसैगरी ह्याण्ड बलका प्रशिक्षक टेकबहादुर विक, फूटवलका प्रशिक्षक रुपलाल श्रेष्ठ, खेलप्रेमीहरु ईश्वरीप्रशाद पाण्डे र जीवन भण्डारीले बल्याक बेल्ट प्राप्त गरेका खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।
गत वर्ष फागुन ७ गते भएको परिक्षामा उत्तिर्ण भएका ११ जना खेलाडीले दिक्षान्त समारोहमा विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।