तुलसीपुर ,साउन ३ । तुलसीपुरमा फेला परेको गाडेको धन सुटुक्क काठमाडौं पु¥याइएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा खेतमा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा जेठ ३० गते एक कसौडी गाडेका सिक्काहरु फेला परेका थिए ।
परीक्षणका लागि दाङ बोलाइएका पुरातत्वका कर्मचारी झन्डै दुई हप्ता अगाडि तुलसीपुर आएर ती प्राचिन सिक्काहरु काठमाडौं लगेर गएका हुन ।
स्थानीयले आँफुहरुलाई कुनै सूचना नदिइ आफ्नो गाउँ ठाउँमा फेला परेका सिक्काहरु सुटुक्क काठमाडौं पठाउनुलाई राम्रो मान्न नसकिने प्रतिक्रिया दिएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले पनि केही दिन पहिले पुरात्व विभागका कर्मचारी आएर सिक्का लगेर गइसकेको जानकारी दिए । पुरातत्वका कर्मचारीले ती सुक्का बुझेको विवरणसहित पत्र दिएर गएको डिएसपी अर्यालले बताए ।
तुलसीपुर –४ स्थित खेतमा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा गाडेर राखेको अवस्थामा पाँच सय ३७ थान सिक्काहरू फेला परेका थिए ।
जसमध्य चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएका सिक्काहरु थिए । फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय रहेका थिए । ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन ।
ती मध्य केही सिक्काहरू १८०६ साल सम्मका रहेका थिए । यहाँ झन्डै दुई सय ७० बर्ष भन्दा अगाडिका गाडेको धन फेला परेको थियो ।
बाटो खन्दा फेला पारि डोजर चालक तुलसीपुर उपमहानगरपालका वडा नं. १५ का २५ बर्षीय सुवाशचन्द्र चौधरीले घरमा लगेर राखेका थिए । ती सिक्का असार ४ गते प्रहरीले फेला पारि ल्याएको थियो ।
जेठ ३० गते बेलुकी तुलसीपुर–४ को खेतमा नयाँ बाटो खन्न दुई वटा डोजर प्रयोग गरिएका थिए । त्यही क्रममा अगाडि चलाउने डोजर चालकले गाडेको धन फेला पारेका थिए ।
तर, त्यसपछि पछाडिका चालकलाई पनि त्यो गाडेको धन भागवन्डा गर्ने सहमति भएको थियो । पछि चौधरीले भागवन्डा गर्न नमानेपछि गाडेको धन भेटिएको कुरा अर्का चालकले सार्वजनिक गरेका थिए ।