दाङ, साउन ३। दाङमा बितेको एक आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा परेर ४८ जना चालक सहित ९५ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्युको संख्याको हिसावले यो संख्या अघिल्लो आर्थिक बर्षको तुलनामा बढी हो ।
बितेको आर्थिक बर्ष २०७८÷०७९ मा दुई सय तीनवटा सवारी दुर्घटना भएका थिए । जसमा साउनको महिनामा २० वटा, भदौमा १७ वटा, असोजमा ११ वटा, कात्तिकमा १९ वटा, मंसिरमा २४ वटा, पुसमा १६ वटा, माघमा ११ वटा, फागुनमा २४ वटा, चैतमा २१ वटा, बैशाखमा ११ वटा जेठमा १३ वटा र असारमा सवैभन्दा कम अर्थात नौं वटा मात्रै सवारी दुर्घटनामा परेका थिए ।
जिल्ला ट्राफिक कार्यालयका हवल्दार लोकेन्द्रबहादुर केसीका अनुसार गएको आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा ४८ जना चालक र ४७ जना सर्वसाधारणको ज्यान गएको छ ।
त्यस्तै उनले दुई सय तीनवटा दुर्घटना हुँदा ९७ जना चालक दुर्घटनामा घाइते भएको छन भने दुई सय ३८ जना सर्वसाधारण दुर्घटनामा घाइते भएका छन् ।
कुल दुर्घटनामध्य ८३ वटा मुद्दाको प्रक्रियामा अघि बढेका प्रहरी हवल्दार केसीले जानकारी दिए । अघिल्लो बर्षको तुलनामा गत बर्ष दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा दाङ जिल्लामा भएका सवारी दुर्घटनामा ७७ जना नागरिकको ज्यान गएको थियो । अघिल्लो आर्थिक बर्षमा जिल्लामा कुल दुई सय ८९ वटा सवारी साधन दुर्घटना भएका थिए ।
जसमा मोटरसाइकिलको संख्या सवैभन्दा धेरै रहेको थियो । दाङ जिल्लामा भएको दुर्घटनामध्य बढी दुर्घटना पूर्व पश्चिम राजमार्ग अन्तरगत हुने गरेका छन् । दुर्घटनाको मुख्य कारणमा तिव्र गति रहेको प्रहरीको भनाई छ ।
प्रहरी निरिक्षक झविन्द्र परियारका अनुसार सवारीका साधन तिव्र गतिमा हुँदा दुर्घटना बढी हुने गरेको छ । पूर्व पश्चिम राजमार्गमा तिव्र गतिमा सवारीका साधन हिड्ने गरेका छन् ।
यस्तै लमही–घोराही–तुलसीपुरको सडकको अवस्था राम्रो नहुँदा पनि दुर्घटना बढी हुने गरेको छ ।