२०८३ भाद्र ११ गते बिहिवार

यौन हिंसाका दोषीलाई सजाय कम भयो ः कांग्रेस सांसद संग्रौला

काठमाडौँ,असार २७ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन् ।

सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गरिन् ।

‘यस्ता घटनालाई रोक्न विधेयकमा गरिएको दण्ड सजायको जरिवानाले मात्रै हुन्न । त्यसैले हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई हेरौं । संयुक्त राष्ट्र संघको उदाहरणलाई हेरौं र यो कानुन निर्माण गरांै’ उनले भनिन् ।

सांसद संगौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताइन् ।

कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *