२०८३ भाद्र ११ गते बिहिवार

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद,दुई लाख जरिवाना

सुर्खेत, असार २४ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सातरसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

बिहीबार उक्त फैसला भएको हो। अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सातरसात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो। उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।

यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *