२०८३ असार २८ गते आइतवार

पहिरोले रुकुम पश्चिमको एक बस्ती नै जोखिममा

रुकुम पश्चिम,असार २२ । निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ ।

मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।

सोमवार रातिदेखि आएको निरन्तर वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर जोखिममा परेको वडाध्यक्ष समिरजंग मल्लले जानकारी दिए ।

उनका अनुसार बस्तीका चार घर अति जोखिममा र १४ घर जोखिममा परेका छन् । वर्षाका कारण गएको पहिरोले यस वडामा आउजाउ गर्ने बाटो र बिजुली सेवा बन्द भएको छ ।

यो ठाउँमा अहिले पनि पहिरो गइरहेको वडाध्यक्ष मल्लले बताए । मुसीकोट नगरपालिकाका मेयर महेन्द्र केसीसहितको एक टोली पहिरोस्थलमा पुगेर फर्किएको छ ।

मेयर केसीले जोखिममा रहेको बस्तीका नागरिकलाई तत्काल सुरक्षित ठाउँमा सार्न सुझाव दिएको बताए ।

बिजुली नभएका कारण सञ्चार सम्पर्कमा समस्या भएको छ । यस ठाउँमा खानेपानी, खाद्यन्न र वासस्थानको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *