तुलसीपुर असार २१ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा वडाध्यक्षले प्राप्त गरेको मत संख्याको बिरुवा रोपण सुरु गरिएको छ ।
हरित वडाका रुपमा विकास गर्नका लागि वडाले प्राप्त मतको बिरुवा रोप्ने र संरक्षण गर्ने निर्णय गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालय रहेको लामाखोला महिला सामुदायिक वनमा बिरुवा रोपेर सुरु गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले एक हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । वडाध्यक्ष प्रेमनाथ योगीले वडाभित्र रहेका सामुदायिक वनहरुसंग समन्वय गरेर बिरुवा रोपिने बताए । उनले बिरुवा रोप्ने मात्रै संस्कार भएकाले ती रोपेका बिरुवा संरक्षण समेत वडातहबाट गरिने बताए ।
नगरप्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालयभित्र फलफूल,जडिबुटीका बिरुवा रोपिने बताए । उनले क्रान्ति संग्रहालयको संरक्षण,संवर्धनमा विशेष ध्यान दिइने बताए ।
पालिकाले त्यस संग्रहालयका लागि सुरक्षाका लागि हेरालुको व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,वडाध्यक्ष प्रेमनाथ योगीलगायतका जनप्रतिनिधि,कर्मचारी, सामुदायिक वनका पदाधिकारी,उपभोक्ताहरुले बिरुवा रोपेका थिए ।