तुलसीपुर,असार २० । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको सम्भावना धेरै रहेको बताएका छन । सोमबार तुलसीपुरमा सरोकारवाला र पत्रकारसंग गरिएको ‘आन्तरिक पर्यटन प्रबद्र्धनका लागि सञ्चार माध्यमको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले लुम्बिनी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यका रुपमा लुम्बिनी,स्वर्गद्धारी,बर्दियाको ठाकुरद्धारा,दाङको बाह्कुने,धारापानी,रतननाथ मन्दिर,थारु सङंग्रालय जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन लागि सरकारले काम गर्ने योजना अनुसार पर्यटनलाई हरेक क्षेत्रसँग जोडेर अगाडि जान लागेको बताए ।
लुम्बिनी बौद्धिक पर्यटनको क्षेत्र भएकोले देशमै सबैभन्दा धेरै पर्यटक भित्राउन सक्ने प्रदेश रहेको चौधरीले बताए । उनले साँस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटनको क्षेत्रलाई जोडेर देश र प्रदेशलाई पर्यटनमा अब्बल बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।
लुम्बिनीलाई केन्द्रबिन्दुमा राखेर प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्नको लागि सबै क्षेत्र लाग्नुपर्ने मन्त्री चौधरीले बताए । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई फरक–फरक हिसाबले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको पनि बताए । मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालाई थारु क्षेत्रको हव बनाउने बताए । थारु जातीको सांस्कृतिक पहिचान, भेषभुषा, बाजागाजा लगायतको संरक्षण प्रर्वद्धन गर्न लागेको पनि बताए ।
उनले आगामी भदौ देखि नै दाङ, बाँके, रोल्पा र पाल्पाका मगर, थारु, नेवार लगायत जातजातीको रैथाने रक्सीहरुको ब्राण्डिङ गर्ने र उक्त रक्सीलाई ब्राण्डिङ गरी एक लाख युवाहरुलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए । प्रदेश भित्र रहेका बादी समुदायका लोपउन्मुख प्रचलित बाजा गाजालाई पनि पर्यटन मन्त्रालयले संरक्षण र प्रर्वद्धन गर्ने उनले बताए ।
उनले थारु, मगर, नेवार लगायतका जातजातीहरुको चार्डपर्व, खानपान, मौलिक नाँचको ‘सिजनल क्यालेण्डर’ नै बनाएर राख्ने योजना रहेको बताए ।
फरक प्रसंगमा मन्त्री चौधरीले राजनितिक दल बिच एकता नहुदाँ टरिगांउ बिमान स्थल ओझेलमा परेको बताए । ‘टरिगांउ एयेरपोर्टलाई अन्तराष्ट्रिय एयरपोर्ट बनाउने सोचले नै यसको बिकास र बिस्तार हुन सकेन,उनले भने,–अबको केही दिनमा यसलाई नयाँ रुप दिने छौँ ।’
उनले अबको केही दिनमै टरिगांउ एयरपोर्टलाई ४२ देखि ७२ सिटे चल्न सक्ने गरि टेण्डर आह्वानको तयारी भैरहेको बताए । उनले टरिगाँउ एयरपोर्टलाई १२ देखि १४ सय मिटरसम्म ‘ल्याण्ड वेय’ बढाए पुग्ने भएकोले यो छिट्टै निर्माण गरिने पनि बताए।
कार्यक्रममा पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्दा प्रदेशको आर्थिक विकास महत्वपूर्ण योगदान दिन सक्ने भएकोले पर्यटनमा पूर्वाधार, प्रचार र व्यापारसँगैसँगै लैजानुपर्ने बताए ।
उनले प्रदेशलाई एक आकर्षण पर्यटन केन्द्रका रुपमा बिकास गर्दै लैजाने,मुुख्य पर्यटन उदगम बजारहरुमा पर्यटन प्रबद्र्धन गरी लुम्बिनी प्रदेशलाई एक प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गर्ने,होटल व्यवसायीहरुलाई गुणस्तर सुनिश्चित गर्नको लागि आवश्यक उपयुक्त मापदण्ड तथा आचारसंहिता लागू गराउने योजना बनाएको उनले बताए ।
उनले मिडिया समाज र पर्यटन व्यवसाय बिच एक मध्यस्थकर्ताको भुमिका रहने हुदाँ मिडियाले व्यवहार र सोचमा व्यापक परिवर्तन ल्याउन सक्ने विस्वास व्यक्त गरे । साथै मिडिया मार्फत गुणस्तरिय जानकारी र ज्ञानले लुम्बिनी प्रदेशको पर्यटमा परिवर्तन हुने,पहिचान नभएका र नयाँ गन्तव्यहरु प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने समेत बताए ।
त्यस्तै संस्कृति विद् डा. गोविन्द आचार्यले जिल्लामा रहेका धार्मिक तथा प्राकृति पर्यटन क्षेत्रहरुको वारेमा गहिराइमा पुगेर अध्ययन हुनु पर्ने बताए । यसले त्यसका वारेमा वाहिर प्रचार प्रसार गरेर पर्यटक भित्याउन सहज हुने बताए । उनले स्थानीय सरकारहरुले पर्यटन तथा संस्कृतिका क्षेत्रमा प्राथमिक्ता दिन नसकेको बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले पर्यटन प्रवद्र्धन गर्न नया पन हुनु पर्ने बताए । जिल्लामा रहेका ऐतिहासीक क्षेत्रको बारेमा जानकारी दिन सक्नु पर्ने उनले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले पर्यटनलाइ सहज आगमनका लागि हवाइ यातायात नियमित हुनु पर्ने बताए । यसका लागि तुसीपुरमा रहेको एरपोर्टको विस्तार हुनु पर्ने उनले बताए ।
त्यस्तै होटेल एसोसियसन संघ दाङका अध्यक्ष नरेशकुमार श्रेष्ठले अहिले जिल्लामा पर्यटन क्षेत्रको अवस्था दयनी रहेको बताए । पयर्टन क्षेत्रको विकासका लागि राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो । पर्यटन भित्याउन पुर्वाधार विकासमा ध्यान दिन सक्नु पर्ने समेत उनले बताए ।
तुलसीपुर होटल व्यावसायी समितीका अध्यक्ष इन्द्रवहादुर वस्नेतले राज्यले होटल व्यवसायीहरुलाई प्रशिक्षण दिन आवस्यक रहेको बताए । यसले उनीहरुले गर्ने व्यवहारमा समेत परिवर्तन हुने उनको तर्क थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले यस क्षेत्रमा रहेका स्रोत साधानको उपयोग गरेर अगाडि वढनु पर्ने बताए । यसका लागि सबै क्षेत्र विच समन्वय हुनु पर्ने समेत उनको भनाइ रहेको थियो । सञ्चार क्षेत्रले आफनो क्षेत्रवाट पर्यटन प्रवद्र्धनका लागि काम गर्ने समेत उनले बताए ।
कार्यक्रम पत्रकारसंग जोडिएको भन्दै पत्रकार एवं अधिकार अभियन्ता शुशिल बस्नेतले पर्यटनको संवर्घनको जिम्मा मिडियालाइ दिइरहंदा मिडियाको संवद्र्धनमा पनि पहल गर्नुपर्ने बताए । तर मिडियाको सम्वोधन गर्ने सन्दर्भमा आयोजक तथा मन्त्रालयबाट कुनै आशालाग्दो अभिव्यक्ति आएन ।
त्यसै अवसरमा स्थानीय पालिकाहरुले पनि पर्यटन तथा संस्कृतिका सन्दर्भमा बजेट शुन्य गर्दै जादा यसले संकट ल्याउने पत्रकार यमकला भुसाल र शर्मिला डिसीले बताए । तर मिडिया सवलीकरणमा पर्यटन सवलिकरण एकैसाथ जोडिएन ।
प्रदेशका ६ जिल्लाका सहभागि उपस्थिती भएको भनिएको कार्यक्रममा दाङ बाहेकका कुनै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थिएन । कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराइले गरेका थिए ।