२०८३ भाद्र ३१ गते बुधवार

विपद् पूर्वतयारी प्रभावकारी बनाउन सरोकारवालाको प्रतिवद्धता

तुलसीपुर, असार १९ । प्राकृतिक विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले तुलसीपुरमा गरेका गरेको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, रेडक्रस सोसाइटीलगायतका सरोकारवाला प्रतिनिधिले पूर्वतयारीलाई चुस्तदुरूस्त बनाउन सके प्राकृतिक विपदबाट पनि क्षति कम गर्न सकिने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीले विपद्जन्य घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्न तयारीमात्र गरेरभन्दा पनि सरोकारवाला निकाय पनि जिम्मेवार बन्नुपर्ने बताइन् ।

‘सबै जिम्मेवार ढंगले प्रस्तुत हुन सक्नुपर्छ’ उनले भनिन्– ‘विगतमा पनि विभिन्न समिति निर्माण हुने तर प्रभावकारी काम गर्न नसकेको अवस्थामा अब अहिले अझै बढी जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने देखिएको छ ।’

उनले नगरले कुनै पनि प्राकृतिक विपद्बाट नागरिकको जीवनरक्षा गर्ने र भौतिक क्षति कम गर्न स्रोत साधनले सकेजति सबै परिचालन गरिरहेको बताइन् ।

वर्षायामसँगै बाढी पहिरो तथा विपद्जन्य घटना हुन सक्ने भएकाले तुलसीपुर उपमहानगरपालिकाले आवश्यक तत्काल उद्धार समूह, उपचारका स्वास्थ्य जनशक्ति, एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखेको उनको भनाइ छ ।

नगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावतले नगरका १९ वटै वडामा प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन आवश्यक औषधिको आपूर्तिको सहज व्यवस्थापनदेखि उद्धार समूहलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

नगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा जनस्वास्थ्य निरिक्षक केसीले वर्षायाममा हावापानी र किटजन्य रोगको प्रभाव बढी हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे ।

विपद्बाट नागरिकलाई जोगाउन प्रत्येक वडामा आरआरटी टिम निर्माण गरी महामारीको पहिचान, प्रतिकार्य र व्यवस्थापनको लागि पूर्वतयारीलाई जोड दिएको उनको भनाइ छ ।

उनले नगरमा साना बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकको अभिलेख गर्नसकेमा विपदका समयमा समस्या पहिचान र समाधानमा धेरै सहज हुने बताए ।

त्यस अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती, सशस्त्र प्रहरी बल तथा बेस क्याम्पका अशोक अधिकारी लगायतले विपद्का घटनाबाट हुने सक्ने क्षतिलाई कम गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिअहेब विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण रजनी रोकायले गरेकी हुन् ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *