तुलसीपुर, असार १५ । बुधवार आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । धान दिवस । ‘जैविक बिबिधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १ को देवीस्थानमा १९औं राष्ट्रिय धान दिवस हर्षउल्लासका साथ मनाएको छ ।
यसवर्षको धान दिवसमा तुलसीपुरका मेयर टिकाराम खड्का,उपमेयर स्यानी चौधरी,प्रमुख प्रसासकीय अधिकृत मोहन पौडेल,राष्ट्रिय सभा सदस्य कोमल वलि,उपमहनगरका कर्मचारीहरु,जनप्रतिनिधिहरु,स्थानीय अगुवा सहित तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत कृषि विषयका विद्यार्थीहरुको पनि उत्साहपुर्ण सहभागीता थियो ।
नजिकै किसान हलो जोत्दै गरेका किसान थिए । त्यहाँ पुगी मेयर टिकाराम खड्का,उपमेयर स्यानी चौधरी,राष्ट्रिय सभा सदस्य कोमल वलिले खेतमा धान रोपेर कृषकलाई हौसला प्रदान गरेका थिए ।
त्यसपूर्व औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले रैथानेवालिको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताए ।
पछिल्लो वर्षहरुमा रैथानेवालीहरु विस्थापित हुदै गएका छन,मेयर खड्काले भने,‘अब हरेक नेपालीहरुले रैथानेबालीहरु संरक्षण गर्न आवश्यक छ ।’ खानपिनकै कारण वर्षेनी मानिसहरुमा विभिन्न खालका रोगहरु देखा पर्दे गएको भन्दै खड्काले रैथानेवालीहरु जोगाउन तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
तुलसीपुर १ का वडाअध्यक्ष हुमकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले जैविक विविधतालाई संरक्षण गरेर आयात प्रतिस्थापन गर्न सकिने बताए ।
तुलसीपुर उपमहानगरपालिका भित्र १० हजार १ सय ६८ हेक्टर जमिनमा धान खेती हुदै आएको प्रमुख गौतमले बताए । उनका अनुसार करिब करिब ४ मेट्रिकटन प्रतिहेक्टरका दरले धान उत्पादन हुदै आएको छ । तर जलवायु परिवर्तनका कारण गतवर्ष धान उत्पादन घटेको छ ।
गत वर्ष ३५ हजार १ सय ८० मेट्रिकटन उत्पादन भएको गौतमले जानकारी दिए । विभिन्न खालका उन्नत जातहरुको क्षमता,मोटो धानहरु उत्पादन गरि बाहिर पठाउने र मसिनो चामल ल्याउने गर्नाले अहिले ४ टनमै सिमित हुनुपरेको छ,प्रमुख गौतमले भने ,‘आगामी वर्षमा धान उत्पादनलाइ ६ टनसम्म पु¥याउन निम्ती विगत ५ वर्षदेखि उन्नत जातका विउहरुमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराउदै आएका छौं ।
साथै उनले धानलाई व्यवसायीक बनाउनुपर्ने बताए ।
कार्यक्रममा कृषि सामाग्रीका सस्थाका प्रमुख तिर्थ न्यौपानेले कोभिड र युक्रेनको युद्धका कारण किसानहरुको माग अनुसार रासायनीय मल उपलब्ध गराउन नसकेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साथै नेपाल सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

तस्विर ः फरककोण ।