शंकर केसी, सल्यान, असार १० । सल्यानको कपुरकोट गाउँपालिकाले साढे ४५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
११औं गाउँसभाको दोश्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक प्रकाश भण्डारीले आर्थिक बर्ष २०७९÷०८० को लागि ४५ करोड ४६ लाख ५५ हजार रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन ।
गाउँसभाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभा बैठकमा उपाध्यक्ष भण्डारीले पेश गरेको अनुमानित बजेटमा चालू तर्फ ५२ प्रतिशत र पूँजिगत तर्फ ४८ प्रतिशत बिनियोजन गरिएको छ ।
कुल बजेटको २३ करोड ६४ लाख ३५ हजार चालुतर्फ र २१ करोड ८२ लाख २० हजार रुपैंया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए ।
उपाध्यक्ष भण्डारीले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास तर्फ ६ करोड ८१ लाख ९८ हजार २५०, सामाजिक बिकास तर्फ १३ करोड ६३ लाख ९६ हजार ५००, पूर्वाधार विकास तर्फ १९ करोड ६३ लाख ९६ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ५४ लाख ६५ हजजार ५००, वित्तिय व्यवस्थापन तर्फ १ करोड ३६ लाख ३९ हजार ६५० रुपैया रहेको छ ।
एकीकृत कृषि विकासका माध्ययमबाट तरकारी खेती, पशुपंक्षी पालन, दूध उत्पादन र फलफूल खेतीलाई पूर्ण व्यवशायिकरण गरी उत्पादनमा आधारित अनुदात तथा लागत कार्यक्रम संचालनका लागि बजेटमा प्राथमिकतामा दिइएको छ ।
त्यस्तै विद्युतिकरण, उद्यम तथा रोजगारी श्रृजना, युवा परिचालन, सडक, खानेपानी, सिंचाइको पहुँच बृद्धि, विद्यालयको भौतीक पूर्वाधार, लक्षित वर्गको आर्थिक सशक्तिकरण जस्ता विवषय प्राथमिकतामा राखिएको छ ।
बजेटमा रकम व्यहोर्ने श्रोतहरुमा संघीय र प्रदेश समानीकरणबाट १० करोड १३ लाख ३४ हजार, संघीय र प्रदेश सशर्त अनुदानबाट १७ करोड ८९ लाख ४० हजार, संघीय र प्रदेश राजस्व बाँड फाँडबाट ८ करोड ७६ लाख १ हजार रहेको छ ।
यस्तै संघीय र प्रदेश विशेष अनुदान तर्फ ३ करोड ५८ लाख २० हजार, अनुदान तर्फ २ करोड रहेको छ ।
त्यस्तै आन्तरिक राजस्व ५० लाख, आन्तरिक वचतबाट २ करोड ५८ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँसभामा पेश भएको बजेट तथा विभिन्न विधेयक माथि दफावार छलफल गरेर आगामी असार २० गते बस्ने गाउँसभाको अर्काे बैठकबाट बजेट पारित गर्ने तयारी रहेको छ ।