२०८१ फाल्गुन २ गते शुक्रवार

सहिदको सपना पूरा गर्न पार्टी एकता


घोराही, २८ माघ ।
विभिन्न कालखण्डमा देश र जनताका निम्ती ज्यानको बलिदानी गर्ने सहिदका सपना पूरा गर्न नेकपाले पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने नेताहरुले बताएका छन् । लोकतान्त्रिक गणतन्त्रका प्रथम सहिद उमेशचन्द्र थापाको योगदानको चर्चा गर्दै नेताहरुले सहिदका सपना पूरा गर्न पार्टी एकताको पहिलो कार्यभार पूरा गर्नुपर्ने बताएका हुन् ।

गणतन्त्र स्थापनाका लागि सहिद उमेशचन्द्र थापाको योगदानका बिषयमा सोमबार सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरुले यस्तो बताएका हुन् । जनताका लागि र शासन पद्धति परिवर्तनका लागि धेरै सहिद भएको स्मरण गर्दै उनीहरुले सहिदको योगदानलाई भुल्दा देश समस्यामा पर्ने गरेको बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बिकिरण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासीले सहिदका सपना पूरा गर्नु नेकपाका लागि पहिलो जिम्मेवारी भएको बताए । यस्तै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माले सहिदको योगदानलाई अवमूल्यन गर्न नहुने तर्क गरिन् ।

यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य यशोदा सुवेदीले पार्टी एकतालाई पूरा गर्दै पहिलो प्राथमिकतामा दिनुपर्ने बताए । त्यस्तै केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टी एकता प्रक्रियालाई धरमराउन दिन नहुने बताए ।

प्रतिष्ठानका उपाध्यक्ष तुलसा केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पूर्व मन्त्री सुष्मा शर्मा, देवी पोखरेल, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डे, नेकपा कार्यदलका सदस्य टीकाराम खड्का, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव सुरामणि बेल्वासेले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *