काठमाडौं,असार ६ । सर्वोच्च अदालतले जग्गा धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ २७ गते भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।
उक्त निर्णयका विरुद्द विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिट उपर सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो ।
जग्गाको वर्गीकरण नभइसकेको देखाएर अनिश्चितकालसम्म जग्गा धितो बन्धक राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हक कुण्ठित हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
अब जग्गा धितो बन्धकी राखेर ऋण लिने बाटो खुलेको छ ।
प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार