२०८१ माघ ३० गते बुधवार

राजकुमार स्मृति टी–२० क्रिकेट प्रतियोगिता जारी 

लक्ष्मण बस्नेत

तुलसीपुर, २८ माघ  ।

दाङको तुलसीपुरमा जारी स्वर्गीय राज कुमार श्रेष्ठ स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा डिभाईटन टेम्पल एकाडेमी तुलसीपुर र राप्ती बाल एकाडेमी तुलसीपुरले विजयी यात्रा सुरु गरेका छन् ।

रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा तुलसी मावि तुलसीपुरलाई ३ विकेटले पराजित गर्दै डिभाईन टेम्पल एकाडेमीले विजयी यात्रा सुरु गरेको छ भने आईडियललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै राप्ती बाल एकाडेमीले विजयी यात्रा सुरु गरेको हो ।

टस जितेर व्याटिङ गर्न खेल मैदानमा उत्रिएको तुलसी माविले दिएको ७० रनको विजयी लक्ष्य डिभाइन टेम्पलले १२ दशमलव १ ओभरमा लक्ष्य भेटाएको थियो । जसमा डिभाईनका रोषण रेग्मी र सुमन केसीले क्रमशः १७ र १३ रनको योगदान दिए । बलिङतर्फ तुलसी माविका सुमित विसीले ३ विकेट लिए ।

टस जितेर व्याटिङ रोजेको तुलसी माविका तर्फबाट सुमित विसीले १९ रनको योगदान दिए भने बलिङतर्फ डिभाईनका हरि वलीले सर्वाधिक ३ विकेट र प्रविण बस्नेतले २ विकेट लिन सफल भए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिभाइनका हरि वली म्यान अफ द म्याच घोषित भए । यसैबीच टस जितेर व्याटिङ रोजेको आइडियलले दिएको ६० रनको विजयी लक्ष्य राप्ती बाल एकाडेमीले ६ ओभरमा आफ्नो २ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा तिलक डाँगी र दिनेश डाँगीले क्रमशः २८ र १० रनको योगदान दिए । बलिङतर्फ स्वष्तिक आचार्य र लक्ष्मण बरालले समान १÷१ विकेट लिए । आइडियलका करण चौधरी १४ रन जोडे भने अन्य व्याट्सम्यानले डबल फिगर बनाउन सकेनन् ।

बलिङमा राप्ती बाल एकाडेमीका ईश्वर महतराले सर्वाधिक ४, दिनेश डाँगी ३, किरण डाँगी र विशाल केसीले समान १÷१ विकेट लिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने राप्ती बाल एकाडेमीका ईश्वर महतरा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत मंगलबार बिहान ८ बजेको पहिलो खेलमा ज्ञानज्योति मावि तुलसीपुर र त्रिदेव बोर्डिङ स्कुल भिड्ने छन् भने दिउँसो १ बजे हुने दोस्रो खेलमा हिमाल एकाडेमी र गोरखा मावि तुलसीपुरबीच क्वाटर फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

विद्यालयस्तरमा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्येबाट वेष्ट व्याट्सम्यान, वेष्ट बलर, वेष्ट फिल्डर, म्यान अफ सिरिज र राइजिङ प्लेयरलगायतका विधामा पुरस्कृत गरिने रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिए । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७५ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *