दाङ, असार ६ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा बाटो खन्ने क्रममा गाडेको धन भेटाएर घर लगेका जेसिबी चालकलाई प्रहरीले छोडेको छ ।
आवश्यक परेको खण्डमा हाजिर हुने सर्तमा चौधरीलाई प्रहरीले छोडे्को हो ।
तुलसीपुर– १५ मलवारका २५ बर्षीय सुवाशचन्द्र चौधरीले असार १ गते दिउँसो साढे ४ बजेतिर बाटो खन्ने क्रममा धातुको कसौडीमा गाडेको अवस्थमा दुई सय ७३ बर्ष पुरानासम्मका सिक्काहरु फेला पारेर घरमा लगेर राखेका थिए ।
कसौडी गाडेको अवस्थामा फेला परेका चाँदीका पाँच सय ३७ थान प्राचिन सिक्का फेला परेको प्रहरीले जनाएको छ ।
जसमा चार सय ६१ वटा श्री ३ लेखेका सिक्काहरु फेला परेका छन् । फेला परेका सिक्काहरु मध्य ७६ वटा भारतीय सिक्का छन् ।
जेसिबी चालकले गाडेको धन निकाल्ने क्रममा घटनास्थलमै खसेका श्री ३ लेखेका सात वटा सिक्काहरु जेसिबीका सहचालकले फेला पारेर आफ्नो घरमा लगेर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
सुवाशचन्द्र चौधरीको पछिपछी बाटो खन्ने काम गरिरहेका सल्यान कपुरकोटका अर्का जेसिबी चालक राजन खड्काले गाडेको धन फेला परेको कुरा जग्गा धनी भण्डारीलाई सूचना दिएका थिए ।
चौधरीले भएको सहमति अनुसार खड्कालाई फेला परेको धन भागबन्डा दिन नमानेपछि खड्काले कुरा स्थानीयलाई सुनाएका थिए ।
सोही सूचनाको आधामार पुगेको प्रहरीले चार दिनपछि शनिबार दिउँसो चौधरीको घरबाट ऐतिहासिक सिक्काहरु बरामद गरेको थियो । प्रहरीले चौधरीलाई समेत पक्राउ गरि थुनामा राख्दै आएको थियो ।