रुकुम पश्चिम,असार ५ । कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताए ।
स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिए ।
विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । चुनावमा स्थानीय युवाहरुलाई जागिरको प्रलोभन देखाएको तर कर्मचारी राख्ने बेला अन्य वडाबाट सरुवा गराएर ल्याएको भन्दै तालाबन्दी गरेको ज्ञानेन्द्र रानाले बताए ।
उनका अनुसार कार्यालयले आफू खुशी कर्मचारी भर्ना नगरेर खुल्ला प्रतिस्पर्धाबाट राख्न माग गरिएको छ । यस अघि वडा नम्बर १३ मा कार्यरत प्रशान्त सार्कीलाई ११ नम्बरमा ल्याएपछि विरोध गरिएको हो । उनी वडा नम्बर १४ निवासी हुन ।
कार्यालय बन्द हुँदा सबै जनप्रतिनिधि र सेवाग्राहीहरु बाहिरै रहेको वडा सदस्य ओलीले बताए । स्थानीय प्रशासनसँग सबै पक्ष बसेर छलफल गरिने बताइएको छ ।